‘फीन इलेक्ट्रो टेक -२०२४’ मा अवलोकनकर्ताको घुइँचो, मेलाको तेस्रो दिन १५ हजारले गरे अवलोकन

‘फीन इलेक्ट्रो टेक -२०२४’ मा अवलोकनकर्ताको घुइँचो, मेलाको तेस्रो दिन १५ हजारले गरे अवलोकन

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन आज (मंसिर १ गते) अवलोकनकर्ताहरूको घुइँचो लागेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको यस मेलामा आज मात्रै १५ हजार भन्दा बढीले अवलोकन गरेका हुन् ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको फीन इलेक्ट्रो टेकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको संख्या बढेको हो । भोलि अर्थात् (मंसिर २ गते) सम्म सञ्चालन हुने यो मेलाको अन्तिम दिन पनि अवलोकनकर्ताको बाक्लो उपस्थिति हुने अपेक्षा महासंघले लिएको छ ।

मेलामा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ साथै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले पनि अवलोकन गरेका थिए । साथै नेकपा एकीकृत समाजवादी (एस) का नेता सोमप्रसाद पाण्डेले पनि मेलाको अवलोकन गरेका छन् ।

उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको यस मेला धेरैको आकर्षणमा परेको देखिन्छ । महासंघले मेलाको तेस्रो दिनको अवसर पारेर नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेको छ ।

उक्त छलफलमा गण्डकी प्रदेशका जीटीईभीटीका कार्यकारी निर्देशक डा. सोमलाल सापकोटा, इन्जिनियर उपेन्द्र बराल, महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेल र ट्रान्सवेल्ड ट्रान्सफर्मर प्रा.लि.का अध्यक्ष अमूल श्रेष्ठ थिए । जसको सहजीकरण केन्द्रबिन्दुका प्रधान सम्पादक विदुर खतिवडाले गरेका छन् ।

सो छलफलमा ट्रान्सवेल्ड ट्रान्सफर्मरका अध्यक्ष अमूल श्रेष्ठले सरकारको नीति नियम स्थिर नहुँदा व्यवसायीलाई लगानी बढाउन अफ्ठ्यारो भएको बताए । आफ्नो कम्पनीले ट्रान्सफर्मर उत्पादन गर्ने जानकारी दिँदै व्यवसायीलाई लगानीको वातावरण मिलाउन सरकार लाग्नु पर्ने उनको भनाइ छ ।

‘नेपाल विद्युत उत्पादन गरी निर्यात गर्ने अवस्थामा पुगिसकेको छ, सरकारले निर्यात गर्ने जुन लक्ष्य राखेको छ, त्यो लक्ष्य पूरा गर्नको लागि यसको विकास र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार लाग्नु पर्छ,’ उनले भने ।

यस्तै, महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेलले नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको माग र प्रयोग बढ्दै गएको जानकारी दिए । ‘नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानको प्रयोग बढ्दै गएको छ, वार्षिक रूपमा यस्ता सामग्री १०५ अर्ब रुपैयाँको सामान आयात भइरहेको छ, यो क्षेत्रलाई विशेष महत्व दिएर सरकार अगाडि बढ्नु पर्छ,’ उनले भने ।

यस्तै डा. सोमलाल सापकोटाले इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका दक्ष प्राविधिक जनशक्ति तयार गर्न आवश्यक रहेको बताए । विद्युतीय सामग्रीको प्रयोगसँगै प्राविधिकको विकास गर्न सक्यो भने यसको बजार थप मजबुद भएर अगाडि बढ्ने बताए । यसैगरी इन्जिनियर उपेन्द्र बरालले घरमा लगाउने विद्युतीय सामान ग्राहकहरूले गुणस्तर छान्न सुझाव दिए । उनले व्यवसायीहरूले पनि बिक्रीपछिको सेवालाई विशेष फोकस गर्नुपर्ने बताउँदै यसको बजारलाई विश्वासिलो बनाएर उपभोक्ताको विश्वास जित्नु पर्ने कुरामा जोड दिए ।

“प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” भन्ने नाराका साथ आयोजना यस मेलाले उपभोक्ता तथा व्यवसायीलाई समेत फाइदा पुर्याउने विश्वास महासंघको छ । यस मेला अवधिभर ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ ।

इलेक्ट्रोनिक्स उद्योगका उत्पादन प्रदर्शन गर्न, नयाँ उत्पादनको परिचय दिन, उद्योगका पेशेवरहरूलाई नेटवर्किङ गर्ने र उपभोक्ताहरूलाई नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले महासंघले मेलाको आयोजना गरेको हो ।

फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ ।

फीन इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका छन् ।

यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, एल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

Logo