काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फीन इलेक्ट्रो टेक –२०२४’ प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । भृकुटीमण्डपमा कार्तिक २९ गतेबाट सञ्चालित फीन इलेक्ट्रो टेक आज अर्थात् मंसिर २ गते भव्यताका साथ समापन भएको हो ।
ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औं संस्करणको फीन इलेक्ट्रो टेकमा अवलोकनकर्ताहरूको उल्लेखनीय सहभागिता रह्याे । प्रदर्शनीको पहिलो दिन ७ हजार, दोस्रो दिन ९ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन ७ हजारले गरी जम्मा ४० हजारले अवलोकन गरेका छन् ।
इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रयोगमा आएको महत्वपूर्ण परिवर्तनले दैनिक जीवनमा आएका सहजता र प्रभावकारीबारे उपभोक्तालाई बुझ्न यस मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ । मेलामा इलेक्ट्रिक मोटर, जेनरेटर, विद्युत ट्रान्समिशन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीहरू मेलाको आकर्षण थिए ।
स्मार्ट ग्रिडहरूमा डिजिटल टेक्नोलोजी र इलेक्ट्रोनिक सामग्रीको प्रयोग गरिन्छ । जसले ऊर्जा वितरण र प्रयोगको निगरानी र नियन्त्रण गर्ने भएकाले यस पटकको मेला महासंघले “प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम” भन्ने नाराका साथ आयोजना गरेको हो ।

इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूको प्रयोग अहिले लगभग हरेक क्षेत्रमा फैलिएको छ । यसले जीवनलाई सजिलो, प्रभावकारी र सुरक्षित बनाएको छ । यी सामग्रीहरूको भविष्यमा पनि नयाँ नवप्रवर्तन र प्रविधिहरूमा प्रयोगका अवसरहरू बढ्दै जाने भएकाले अहिले विद्युतीय सामग्रीहरूमा आएको ट्रेन्डलाई मेलाले उपभोक्तालाई बुझायो भन्ने अपेक्षा महासंघले लिएको छ ।
मेलामा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ साथै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले पनि अवलोकन गरेका थिए ।
उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको यस मेलाले धेरैलाई आकर्षण गरेको पाइएको छ । मेलालाई थप प्रभावकारी बनाउनको लागि मेला अवधिभर विभिन्न विधामा रहेर विज्ञहरूको समूहद्वारा छलफल भएको थियो ।
उक्त समूहले विद्युतीय सुरक्षामा गुणस्तर, विद्युतीय सर्किटमा केबलको महत्व र नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेका थिए । सो छलफलले यस क्षेत्रमा देखा परेका समस्या र अवसरहरूलाई उजागर गर्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ ।
विद्युतीय सामग्रीको प्रयोगसँगै प्राविधिकको विकास गर्न सक्यो भने यसको बजार थप मजबुद बनाउँछ । सोही सिलसिलामा आगामी दिनमा थप नयाँ विषय बस्तुलाई समेट्दै प्रदर्शनीको आयोजना महासंघले गर्नेछ । प्रत्येक २/२ वर्षमा आयोजना हुने यो प्रदर्शनी अब सन् २०२६ मा आयोजना गर्ने महासंघले निर्णय गरिसकेको छ ।
यस पटकको फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका थिए । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्री थिए ।
यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेका थिए । प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका थियो ।






























प्रतिक्रिया