काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिलाई जवाफ दिएका छन् । भेनेजुएलामाथि भईरहेको अमेरिकी हस्तक्षेपपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विज्ञप्ती जारी गर्दै हस्तक्षेप नगर्न अमेरिकालाई सचेत गराएका थिए । उक्त विज्ञप्तीपछि नेपाल अमेरिका सम्बन्धमा चिसोपना आएको छ । अमेरिकाले यस विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।
सरकारले पनि नेपालको कुनै पनि देशमा हस्तक्षेप नगर्ने नीति रहेको भन्दै नेपालले कुनै पनि देशको विरुद्धमा उत्रिन नखोजेको जवाफ दिएको थियो । तर त्यतिले अमेरिकालाई मान्य भएन् । नेपाल सरकारले परराष्ट्र नीतिबारे ब्रिफिङ गर्न बोलाएको विदेशी कुटनीतिज्ञहरुको बैठकमा अमेरिकी राजदूत अनुपस्थित भए ।
त्यसको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे विवादित अभिव्यक्ति दिएका थिए । नेपाल र भुटान भारतको हिस्सा भएको प्रतिक्रिया दिएपछि यो विषयले विवाद सिर्जना भएको थियो । उक्त कुराले नेपालमा चौतर्फी विरोध भएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टी जनाउँदै ट्रम्पको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुयलाबारे त्यस्तो विज्ञप्ति नआउने’ बताए ।
जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले अन्तिममा भेनेजुयला प्रकरण कोट्याएका थिए । प्रधानमन्त्री ओलीलाई प्रस्तोताले ‘हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन ?’ भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘स्वभाविक रुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो त्यस्तो जरुरी छैन । अलिकति स्लिप भएको हो । म भोलीपल्ट आउँदै थिएँ । अघिल्लो दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन । त्यस्तो जरुरी विषय थिएन त्यो । र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन । त्यसले एउटा तरंग ल्यायो ।’
स–साना घटना कहिले जानेर वा नजानेर हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभो । तर, त्यसकै पछाडि देश–देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । त्यही सुरुवात वा अन्त्य होइन । स–साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् । त्यस्तै कुरालाई लिएर केही लाइनको एउटा वक्तव्य युद्धको घोषणा त गरिएको छैन त्यहाँ । अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश । सानो चिजले छुँदा पनि प्राणै जाने खालका स–साना जीवनहरु हुन्छन् । तर, विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन उसले । त्यत्रो देशले यस्तो स–साना कुरामा अल्झिनु वाञ्छनीय हुन्न ।’
ट्रम्पले नेपाललाई भारतको भूभाग ठानेको भनेर आएका समाचारका विषयप्रति चित्त दुखाउँदैं भने, ‘आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला । त्यस्तै चित्त दुखाउने कुरा हो भने हामीजस्तो सानो देशलाई अर्को देशको अंग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र ?
अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने, ठूलो भयो भने धेरै चित्त दुखाउनुपर्ने हो र ? त्यसकारण यस्ता स–साना स्लीप भएका कुराहरु ठूलाहरुका पनि स्लीप हुन्छन्, हामी देखिरहेका छौं, भइरहेका छन् । अरुका पनि स्लीप हुन सक्छन् । त्यसर्थ हामीले तत्सम्वन्धमा आफ्नो दृष्टिकोण अझै स्पष्ट पारिरहेका छौं । जस्तो मान्छेले भयावह चित्रण गर्न खोजेका छन् । त्यस्तो होइन । सम्वन्ध सप्रिएको छ । सप्रिदै जान्छ ।’
यदि तपाईं नेपालमै हुनुभएको भए यस्तो विज्ञप्ति आउँथ्यो ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ‘आउने थिएन स्वभाविक रुपमा । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन । मैले भने नी एउटा त्यो अलिकति स्लीप भएकै हो । त्यसैमा अल्झिराख्नु वाञ्छनीय हुँदैन ।’































प्रतिक्रिया