काभ्रे र सिन्धुपाल्चोकका ग्रामिणभेगमा संचालित एम्बुलेन्सका स्वास्थ्यकर्मीलाई तालिम

काभ्रे र सिन्धुपाल्चोकका ग्रामिणभेगमा संचालित एम्बुलेन्सका स्वास्थ्यकर्मीलाई तालिम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काभ्रे र सिन्धुपाल्चोकका ग्रामिणभेगमा संचालित एम्बुलेन्सका स्वास्थ्यकर्मीहरुलाई तालिम शुरु गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय स्वास्थ्य सेवा विभाग अन्तर्गत नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखामा सञ्चालित ग्रामीण आपतकालीन ट्रमा प्रणाली शुद्धिकरण परियोजना क्यानेडियन रेडक्रसको सहयोग तथा धुलिखेल अस्पताल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको साझेदारीमा एम्बुलेन्समा रहने स्वास्थ्यकर्मीहरुका लागि १४ दिने इमर्जेन्सी मेडिकल टिम तालिम धुलिखेल तालिम केन्द्रमा शनिबारदेखि शुरु भएको हो ।

कार्यक्रममा बेथान्चोक गाउँपालिका, चौरीदेउराली गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका र इन्द्रावती गाउँपालिकाका गरी २० जनाको सहभागीता रहेको छ । कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ताले उक्त कार्यक्रमले ग्रामीण भेगमा कुनै पनि अपतकालीन अवस्था सिर्जना हुँदा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुलाई एम्बुलेन्समा परिचालन गरी बिरामीको स्वास्थ्य अवस्थालाई बिग्रन नदिई समयमै आवश्यक सेवा उपलब्ध गराई मृत्युदरलाई कम गराउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा रहेको बताए ।

मन्तव्यकै क्रममा धुलिखेल अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. सानुकृष्ण श्रेष्ठले धुलिखेल भेगमा मात्र नभई राष्ट्रिय रुपमा नै नेपाल ग्रामीण भेगले भरिएको र पर्याप्त स्वास्थ्य सेवा उपलब्ध नभएकोले लामो यात्रा गर्न बाध्य नागरिकलाई एम्बुलेन्समै स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यो तालिम महत्वपूर्ण रहेको बताए । जिल्ला सचिव पुष्पा खड्काले तालिममा सिकेका अनुभवलाई व्यवहारमा उतारी सेवा दियो भने मात्र यसको लक्ष्य प्राप्त हुने बताइन्।

कार्यक्रममा ट्राफिक प्रहरीद्वारा ट्राफिक नियम तथा सडक सुरक्षाको बारेमा प्रस्तुतीकरण गरिएको थियो । नेरेसो काभ्रे जिल्ला शाखा संयोजक समुन्द्रलाल श्रेष्ठले रेडक्रसले विगतमा पनि आपतकालीन कार्यमा साथ दिँदै नेपाल सरकारको सहयोगी भएर कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै तालिम तथा अन्य गतिविधिहरु सञ्चालन गर्दै रेडक्रसको छवि उच्च राख्ने बताए ।

उक्त तालिममा जिल्ला शाखाको तर्फबाट सदस्य राजु सिग्देलको सहभागीता रहेको अस्पताल पूर्वसेवा कार्यक्रम प्रमुख भोजराज ओझाले जानकारी दिए ।

Logo