काठमाडौँ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्याली निकालेको छ ।
बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्याली गरिएको हो ।
कार्यक्रममा सहभागी अभियान्ता राजाराम तन्दुकारले सहर सवारी साधनमैत्री नभएर जनतामैत्री हुनुपर्नेमा काठमाडौँ महानगरले जनताको निजी सम्पत्तिलाई बिनामुआब्जा, बिनाक्षतिपूर्ति हड्प्ने, डोजर लगाउने जस्ता त्रासपूर्ण गलत कामहरू गरिहेको बताए ।
उनले अहिले आफूहरूले खबरदारी मात्र गरेको भन्दै माग पूरा नभए काठमाडौँ महानगरका बालेन शाहलाई महानगर निषेध कार्यक्रम पनि घोषणा गर्ने चेतावनी दिए ।
उनले भने,‘सहर सवारीसाधन मैत्री होइन, जनतामैत्री हुनुपर्छ । जनताको निजी सम्पतिलाई बिनामुआब्जा, बिनाक्षतिपूर्ति हड्प्ने, डोजर लगाउने, त्रास सिर्जना गर्ने कामहरु गलत भइरहेको छ । हाम्रो खबरदारी मात्र हो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरुलाई कार्यालय प्रवेश निषेध गर्छौं । जस्तै बालेनलाई हामी काठमाडौँ महानगर निषेध कार्यक्रम पनि घोषणा गर्न सक्छौं ।’
कार्यक्रममा सहभागीहरुले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, आवास र सम्पत्तिको सवैधानिक हकको ग्यारेन्टी गर, निजी घरजग्गा माथि हस्तक्षेप बन्द गर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए ।





























प्रतिक्रिया