काठमाडौँ । नेपालमा ईभी सवारीको प्रयोग बढ्दै गइराख्दा आयातमा पनि उल्लेख्य बृद्धि भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्येक महिनामा ईभी गाडीको आयात उच्च हुँदै गएको हो ।
चालु आर्थिक वर्ष २०८१–०८२ को ४ महिना (साउनदेखि कार्तिकसम्म) ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ ईभी गाडीको आयात भएको छ । विभागका अनुसार उक्त रकमका ३ हजार ४ सय ८७ वटा ईभी गाडी (कार, जीप र भ्यान) आयात भएका छन् ।
जसबाट सरकारले ५ अर्ब १९ करोड २० लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको विभागले बताएको छ । विभागको तथ्याङकले ५० किलोवाट क्षमताका ईभी १ हजार ५०, ५१ देखि १०० किलोवाट क्षमताका २१ सय १५ र १०१ देखि २०० किलोवाट क्षमताका ३१६ वटा गाडीको आयात भएको बताएको छ ।
यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको चार र ३०० किलोवाटमाथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएका छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नले ईभीको प्रयोग बढ्दै गएको छ ।
सडक ईभीमय बन्दै जाँदा ईभीको आयात अझै बृद्धि हुने व्यवसायीहरू बताउँदै आएका छन्
कुन देशबाट कति भयो आयात ?
नेपालमा ईभी गाडीको उत्पादन नहुँने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।
यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ५१३ र भारतबाट ५३७ वटा भित्रिएका छन् । यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १६ सय ८७ र भारतबाट ४३२ वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो
यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ३१०, जर्मनीबाट ४ र अमेरिकाबाट दुई वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट दुई वटा गाडीको आयात बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।
यसका साथै ३०० किलोवाटमाथिको एकवटा गाडी चाइनाबाट आयात भएको विभागले जानकारी दिएको छ ।





























प्रतिक्रिया