सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, प्रो तोरण एक स्ट्रोकले पराजित

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई, प्रो तोरण एक स्ट्रोकले पराजित

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन्।

अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन्डर २७६ को नतिजामा उनले अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले माथ दिए। राहुलको सूर्य नेपाल गल्फ टुरमा करियरको यो पहिलो उपाधि हो।

गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन-पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११-अन्डर २७७ सहित दोस्रो भए। प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७-अन्डर २८१ सहित तेस्रो भए। उनले आज इभन-पार ७२ मा खेल सके ।

समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले चौथो स्थान बाँडे। निरजले आज १-ओभर ७३ र भुवनले २-अन्डर ७० मा खेल सकाए। प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

यसैगरी समग्रमा इभन-पार २८८ को नतिजामा सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं भए। सुनिलले २-अन्डर ७० र जयरामले इभन-पार ७२ को स्कोर दर्ज गरे। दुवैले जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए।

यसैगरी समग्रमा ३-ओभर २९१ सहित राजेन्द्र थापा मगरले आठौं स्थानमा प्रतियोगिता सकाए। उनले आज इभन-पार ७२ मा खेल पुरा गरे। ४-ओभर २९२ को नतिजामा सञ्जय लामा नवौं र ५-ओभर २९३ सहित भुवन कुमार रोक्का समग्रमा दशौं भए। अन्तिम दिन सञ्जयले इभन-पार र भुवनले १-ओभर ७३ को स्कोर दर्ज गरे। उनीहरूले क्रमश ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे। आज एमेच्योर गजेन्द्र गुरूङले १०औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे।

अन्तिम १८ होलको खेल सुरू गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो। उपाधि जित्ने संभावना तोरणको उच्च थियो। तर पहिलो पटक फाइनल ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे। दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे।

Logo