काठमाडौँ
जोसुकैलाई शहीद घोषणा गर्दा देशका लागि प्राण आहुति दिनेप्रति अपमान भएको भन्दै शहीद घोषणाको स्पष्ट मापदण्ड बनाउन माग गरिएको छ । शहीद दिवसका अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) व्यवस्थापन समितिले बुधबार आयोजना गरेको कार्यक्रमका वक्ताले स्पष्ट परिभाषा र वर्गीकरणको मापदण्ड नहुँदा सच्चा शहीदप्रति अन्याय भएकामा जोड दिनुभयो ।
कार्यक्रममा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले स्मारकलाई राष्ट्रिय धरोहरका रुपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो । “पाँच वर्षमा सम्पन्न हुनुपर्ने स्मारकको काम नसकिएपछि अनुगमन समिति गठन भएको छ, समितिले प्रतिवेदन तयार पारेको छ, दोषीलाई कारवाही गरी बाँकी कामका लागि आवश्यक बजेटको व्यवस्था हुन्छ”, उहाँले भन्नुभयो ।
स्मारक निर्माणका लागि ४७ करोड चाहिने प्रारम्भिक अनुमान गरिएकामा २७ करोडको काम भइसकेकाले बाँकी कामका लागि आवश्यक बजेट दिइने मन्त्री राईको भनाइ थियो । सांसद कृष्ण राईले स्मारक निर्माणका लागि स्थानीयवासी विगत एक दशक अघिदेखि लागिरहेकाले सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले यसअघिका निर्माण व्यवसायीले काम नगरेकाले ठेक्का तोडी नयाँ प्रक्रिया शुरु गर्नुपर्ने बताउनुभयो । स्मारक व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले निर्माण ७० प्रतिशतभन्दा बढी र वित्तीय प्रगति ५८ प्रतिशतभन्दा धेरै भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा शहीद परिवारका तर्फबाट बालकृष्ण दाहाल र द्रोण लामिछाने, स्मारक व्यवस्थापन समितिका महासचिव त्रिलोचन पौडेल र कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले शहीद को हो भन्ने स्पष्ट नहुँदा स्मारकलाई असहज भएको, वास्तविक शहीदलाई अपमान भएकाले स्पष्ट मापदण्ड र परिभाषा गरिनुपर्नेमा जोड दिनुभयो । रासस































प्रतिक्रिया