काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत उपाधी दाबेदार मानिएको कर्णाली याक्सले जनकपुर बोल्ट्सविरूद्ध चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन जोडेको हो । कर्णालीका लागि आशा गरिएका विदेशी स्टार खेलाडी सस्तैमा समेटिए । चर्चित भारतीय क्रिकेटर शिखर धवन, वेस्ट इण्डिजका चाडविक वाल्टन, ओमानका जीशन मक्सूद, हङकङका बाबर हायत सस्तैमा आउट भएका हुन् ।
एनपीएलकै हाइफ्रोफाइल खेलाडी एवं सबैभन्दा आशा गरिएका धवन नै १४ रनमा आउट भए । १४ बल खेले तर ३ चौका मात्रै प्रहार गर्न सके । हर्ष ठाकरले उनको विकेट लिएका हुन् । यसैगरी बाबर १२, वाल्टन ८ रन, मक्सूद शून्यमै आउट भए ।
तर, गुल्सन झा, अर्जुन घर्ती र कप्तान सोमपाल कामीले कर्णाली याक्सलाई राहत दिलाए । गुल्सनले २७ बलमा ३ छक्काको मदतमा ३६ रन जोडे । गुल्सन आउट हुँदा कर्णालीले १५ दशमलव २ ओभरमा ७९ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।
त्यसपछि आएका अर्जुनले १८औं ओभरमा विष्फोटिङ ब्याटिङ गरे । उनले हर्ष ठाकरको बलमा २ छक्का, २ चौका र २ रन प्रहार गरे । यो ब्याटिङले सानदार फिनिसिङ गर्यो । उनी ३३ रन बनाएर आउट भए । त्यसपछि अन्तिम ओभरमा कप्तान सोमपाल कामीले विष्फोटिङ ब्याटिङ गर्दै कर्णालीका लागि सम्मानजनक स्कोर खडा गराए । अन्तिम ओभरमा जिमी निशमलाई २० रन प्रहार गरे । उनी २९ रनमा अविजित रहे ।
बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए । यसैगरी किशोर महतो, ललित राजवंशी, हर्ष ठाकर र जिमी निशमले एकएक विकेट लिए ।





























प्रतिक्रिया