काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । यो एनपीएलमा विराटनगरको पहिलो जित हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको आजको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । यो विशाल लक्ष्य पछ्याएर भेट्याउने विराटनगर पहिलो टोली हो ।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे । यसैगरी बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे ।
बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । तर, लामो सटको प्रयासमा क्याचआउट हुँदा उनी एनपीएलमा पहिलो अर्धशतकबाट चुकेका थिए ।
यसैगरी आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । अर्जुन साउदले १७ रन, सन्दीप जोराले १२ तथा साद विन जाफरले १५ रन जोडे । विवेक यादव १९ रनमा नट आउट रहे ।
बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मात आलम र राजेश पुलामी मगरले समान १ विकेट लिए । एनपीएलमा सन्दीपको यो पहिलो विकेट हो । यसअघि दुई खेलमा विकेट विहीन रहेका थिए ।





























प्रतिक्रिया