एनपिएलमा जनकपुर बोल्ट्सको ह्याट्रिक जित, पोखरा स्तब्ध

एनपिएलमा जनकपुर बोल्ट्सको ह्याट्रिक जित, पोखरा स्तब्ध

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्समाथि जनकपुरले ७ विकेटको जित दर्ता गरेको हो ।

आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन जोडे । सो क्रममा ३२ बल खेलेका उनले ८ चौका प्रहार गरे । साथै जेम्स निशमले २० बलमा ५ छक्का प्रहार गर्दै ४० रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएकोे थियो ।

पोखराका लागि मार्कस क्रिचले ३० बलमा एक छक्का र तीन चौका प्रहार गर्दै ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए । साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले ६ रन जोडे भने अविजित रहँदै नारायण जोशीले ५ र विपिन खत्रीले एक रन बनाए ।

जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक/एक विकेट लिए ।

Logo