तेक्वान्दोमा नेपाललाई १७ स्वर्णपदक सहित दोस्रो स्थान प्राप्त

तेक्वान्दोमा नेपाललाई १७ स्वर्णपदक सहित दोस्रो स्थान प्राप्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एन्ड तेक्वान्दो च्याम्पियनशिपमा नेपाली तेक्वान्दो टोली दोस्रो भएको छ ।

माघ ३ गतेदेखि सोमबार सम्म भएको च्याम्पियनशिपमा नेपालले १७ स्वर्ण, ११ रजत र सात कास्य गरी ३४ पदकसहित दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिनुभयो । उक्त च्याम्पियनशिपको फाइटमा मोहम्मद उमर खानले सिनियर ५४ केजी, अब्बास खानले जुनियर ५८ केजी, निशा श्रेष्ठले सिनियर ५२ केजी र रञ्जित भण्डारीले जुनियर ५४ केजीमा स्वर्ण जित्दा पुम्सेमा पनि स्वर्ण जिते ।

समीर डल्लाकोटीले फाइटतर्फ जुनियर ४५ केजीमा नेपाललाई स्वर्ण दिलाए । उनले पुम्सेतर्फ फाइनलको यात्रा तय गरे पनि रजत पदकमै सीमित भए । त्यसैगरी समीक्षा भण्डारी, चाँदनीकुमारी गुप्ता, हेमराज गुरुङ, सचिन थापामगर र सबिन सार्कीले फाइटमा स्वर्ण र पुम्सेमा रजत पदक जित्न सफल भए ।

फाइटङतर्फ जिप्सन नेपाल, राजेशकुमार तमाङ र इमरान नजिर सेखले स्वर्ण जिते । सुपृका गुरुङ र हेमन गुरुङले दुवै विधामा रजत र कास्य जित्न सफल भए । पुम्सेमा युनिशा दराइले रजत, फाइटङमा आयुशा श्रेष्ठ, महेशकुमार शाहले रजत पदक र पृति गुरुङले कास्य पदक प्राप्त गरे । यस्तै मेलिना गुरुङ, दीपनारायण चौधरी र जाहिद उल्लाले फाइटतर्पm कास्य पदक जित्न सफल भए ।

नेपाललाई एक स्वर्णसहित तीन पदक

तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका तीन खेलाडीले पदक जित्न सफल भएका छन् ।

हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनशिपमा सोमबार नेपालले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्न सफल भएको नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्तिमगरले जानकारी दिनुभयो । पुरुषतर्फ नेपालका दीपक छन्त्यालले ७८ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । पुरुषकै ६६ केजीमुनि विक्रम स्वर्णकारले रजत र महिलातर्फ वसन्ती बुढामगरले कास्य पदक जितेको घर्तिमगरले बताउनुभयो ।

नेपाल मार्सल आर्टस हाप्किडो सङ्घका अध्यक्ष घर्तिमगरको नेतृत्वमा चार सदस्यीय टोली अहिले रुसमा छ । अन्तर्राष्ट्रियस्तरमा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पदकमार्फत राष्ट्रको शिर उँचो राख्न सफल भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
रासस

Logo