काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा रोमाञ्चक जित दर्ता गरेको छ । आज कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो खेलमा कर्णालीले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको हो ।
कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२६ रनमै समेटिएको हो । मध्यम लक्ष्य पनि नभेट्नुमा विराटनगरका शिर्ष ब्याटर नै चलेनन् ।
ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बम सस्तैमा समेटिँदा अप्ठ्यारोमा परेको विराटनगरले एकपछि अर्को विकेट गुमाउँदै गयो । लोकेशले ९ बलमै २ छक्काको मदतमा १९ रन जोडे । तर, गप्टिल ४ रन, अकिव इल्यास ८ रन, नरेश भट्ट ७ रन र बसिर अहमद ८ रनमा आउट भएका हुन् ।
त्यसपछि निकोलश किर्तोन क्रिजमा त टिके तर, सोचेअनुसार प्रदर्शन गर्न सकेनन् । ३९ बल खेलेका उनले ४ चौका र एक छक्काको मदतमा ४० रन जोडे । यसैगरी दिपक बोहराले १८ रन जोड्दा प्रतिश जिसी ७ रन तथा कप्तान सन्दीप लामिछाने ५ रनमा अविजित रहे ।
विराटनगरलाई रोक्न बलिङतर्फ कर्णालीका नन्दन यावदले सर्वाधिक ३ विकेट लिए । उनले एकैओभरमा किर्तोन र बोहराको विकेट लिनु नै विराटनगरको हारका लागि प्रमुख कारण बन्यो । यसैगरी विपिन शर्माले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।
कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले जम्मा पाँच रन बनाए । अन्य ब्याटर पनि आजको खेलमा चल्न सकेनन् ।
बिराटनगरका लागि प्रतीश जिशीले ह्याट्रिकसहित चार विकेट लिए । उनले खेलको २०औँ ओभर मेडन राख्दै चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले दसमान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए ।





























प्रतिक्रिया