पुरैनीमा आइपुगे प्रवासी पक्षी, सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पक्षी आउने क्रममा कमि

पुरैनीमा आइपुगे प्रवासी पक्षी, सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पक्षी आउने क्रममा कमि

केन्द्रबिन्दु
6
Shares

कञ्चनपुर । बेलौरी नगरपालिका ६ स्थित पुरैनी तालमा प्रवासी पक्षी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपक्षीका प्रजाति आइपुग्छन् ।

विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी आइतबार मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् ।

चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो । तालमा यसअघि नै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् ।

घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ । यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुुन्दर पन्छीका रुपमा रहेको छ ।

सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरोखैरो हुन्छन् । माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ । “कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनकता छाएको छ”, चरा संरक्षणकर्मी सुवन चौधरीले भने, “यस पन्छीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुने गरेको छ ।”

उनका अनुसार कलहाँसले आहारका रूपमा सीमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन् । प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाइ बच्चा कोर्लने गर्दछ । शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको सङ्ख्या भने घट्दो छ । साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरु हुनअगावै पुरानै ठाउँमा फर्कने गर्दछन् ।

चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पक्षी यहाँ आउने गरेका छन् । प्रजननको समय सुरु हुनअगावै फर्कने गरेका छन् । जल पक्षीका लागि आश्रयस्थलका रूपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरुलाल डगौरा बताउँछन् ।

“सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पक्षी आउने क्रममा केही वर्षदेखि कमि देखिएको छ”, उनले भने, “जल पन्छीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ, सिमसार क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनुपर्छ ।”

Skip This
Skip This
Logo