कप्तान रोहित चम्कँदा एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित, चितवन स्तब्ध

कप्तान रोहित चम्कँदा एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित, चितवन स्तब्ध

केन्द्रबिन्दु
141
Shares

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।

प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

यता चितवनले भने लगातार दोस्रो हार व्यहारेको छ । यसअघि तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

लुम्बिनीले जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । लुम्बिनीले जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले ३ चौका र एक छक्काको मदतमा सर्वाधिक ३१ रन जोडे । नर सार्की २२ रनमा अविजित रहँदा कप्तान कुशल मल्लले २० रन, रवि बोपाराले १६ बलमा १२ रन बनाउनुबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

चितवनलाई सस्तैमा समेट्न लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । यसैगरी रामोन सिमोण्डसले २ तथा साद विन जाफर र अभिषेस गौतमले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६७ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि रोहितकुमार पौडेलले ५७ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा सर्वाधिक ८० रनको योगदान गरे भने साद बिन जफरले ३५ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाए । त्यस्तै अर्जुन साउदले १५ र टोम मुर्सले १० रन बनाएका थिए ।

बलिङतर्फ चितवनका लागि रिजन ढकालले तीन तथा कप्तान कुशल मल्ल र रञ्जित कुमारले समान एक विकेट लिए ।

Logo