सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद हार

सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद हार

केन्द्रबिन्दु
135
Shares

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो हार व्यहारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा आज भएको लो स्कोरको खेलमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो ।

सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा अलआउट हुँदै ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका सामू जनकपुरका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिकेर बस्न सकेनन् । यो एनपीएलमा बनेको सबैभन्दा कम स्कोर हो ।

जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे । उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए । यसअघि सनसनी प्रदर्शनी मच्चाउँदै आएका जनकपुरका खेलाडी आज चल्न सकेनन् । ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए ।

बलिङतर्फ सुदुरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३३ रन बनाएका हुन् । यसैगरी, सैब जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए । त्यस्तै शेर मल्ल र अरनिको यादवले समान दुई–दुई विकेट झारेभने हर्ष ठाकरले एक विकेट लिए ।

यो पहिलो हारले जनकपुर २ खेल अगाबै प्लेअफमा पुग्नबाट चुकेको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो टोलीका रुपमा उभ्याएको थियो । तर, आज चुक्न पुग्यो र शिर्ष स्थान पनि गुम्यो ।

अब पाँचौ खेलमा चौथो जित हात पार्दै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।

Skip This
Skip This
Logo