लुम्बिनी लायन्सको अर्को नमिठो हार, लिगबाट बाहिरियो

लुम्बिनी लायन्सको अर्को नमिठो हार, लिगबाट बाहिरियो

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्को हार व्यहारेको छ । आज भएको दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग लुम्बिनी १८ रनले पराजित भएको हो । योसँगै लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ ।

काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भएको हो । लुम्बिनीका लागि सन्दीप जोराले २९ बलमा २ चौकाको मदतमा सर्वाधिक २६ रन बनाए । यसैगरी उन्मुक्त चन्दले १९ बलमा १३ रन जोड्दा सुर्य तामाङ ११ रनमा नट आउट रहे । अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रन बनाएको थियो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेक गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।

पराजित लुम्बिनीको छ खेलमा पाँचमा हार र एकमा जितसहित दुई अङ्क छ । यस हारसँगै लुम्बिनी लिग चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो । लुम्बिनी यसअघि विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । हिजो भएको खेलमा भने लुम्बनीले चितवनलाई पराजित गरेको थियो ।

चार खेलमा दुईमा हार र दुईमा जितका साथ काठमाडौँ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो खेलमा जितसँगै काठमाडौं प्लेअफ सम्भावना कायमै छ । उक्त प्रतियोगितअन्तर्गत भोलि बुधबार दुई खेल हुनेछ । जसमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सवीच प्रतिस्पर्धा हुनेछ भने १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

Skip This
Skip This
Logo