काठमाडौँ । निम्बस बजारले वस्तु उत्पादन गर्ने कम्पनी र सामान बिक्रेता (पसल) लाई आपसमा भेटाउने अनलाइन प्ल्याटफर्मको सुरुवात गरेको छ । निम्बसले वस्तु उत्पादनकर्ता वा आयातकर्ता कम्पनीले ल्याएका सामान सहजै पसलमा पुगोस् भन्ने उद्देश्य राखी अनलाइन प्ल्याटफर्म सञ्चालनमा ल्याएको हो ।
उत्पादनकर्ता वा आयातकर्ताले ल्याएका वा तयार पारेका वस्तु निम्बस बजारमा राख्ने र सो सामानको अर्डरका आधारमा पसलपसलमा पुर्याउने प्ल्याटफर्म तयार गरेको निम्बस बजारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल गुप्ताले बताए ।
‘लगानीकर्ताले अर्बौँ रुपैयाँ लगानी गरेर उद्योग खोल्छन्, त्यहाँबाट तयार भएका सामान विभिन्न माध्यमद्वारा पसलसम्म पुग्छन्, उक्त ठाउँसम्म पुग्दा मूल्य पनि महँगो पर्छ, यो दूरीलाई घटाउने माध्यम निम्बस बजारलाई बनाएर बजारमा ल्याएका हौँ ।’ उनले भने ।
निम्बस बजारले उत्पादनकर्ता वा आयातकर्ताले ल्याएका सामान बजारका पसलसम्म पुर्याउने भूमिका खेल्ने गुप्ताले जानकारी दिए । अनलाइनबाट सामान अर्डर गरी पसलले सहजै उक्त सामग्री प्राप्त गर्न सक्ने माध्यम बनेको निम्बस बजारसँग जुनसुकै ब्रान्डका उत्पादनहरू उपलब्ध छन् ।
उत्पादन भएका सामग्री वा आयात गरेर ल्याएका वस्तुहरूको बिक्रीका लागि सो कम्पनीहरूलाई पसल भेटाउनका लागि निम्बस बजारले मद्दत पुर्याउने गुप्ताले जानकारी दिए ।
‘हामी पसलबाट सामान किन्छौँ, त्यो पसललाई सामान दिने अर्कै हुन्छ, अर्थात् डिलरको मार्फत सामान पसलमा आइपुग्छ, डिलरलाई सामान आयातकर्ता वा वस्तु उत्पादन गर्ने कम्पनीले दिन्छ, यो झन्झटलाई कम गरी सोझै वस्तु उत्पादनको कम्पनी र पसललाई भेटाउनका लागि निम्बस बजारको सुरुवात गरेका हौँ ।’ उनले भने ।
पसलहरूले निम्बस बजारको अनलाइन मात्र नभई भौतिक रूपमा पनि सामानको अर्डर गर्न सक्छन् । निम्बसले काठमाडौँ उपत्यकाभित्र करिब ३० वटा स्टोरहरू सञ्चालनमा ल्याएसँगै यो सुविधा पनि प्रदान गर्न थालेको हो । पसलबाट अनलाइनमा आएको अर्डर उक्त स्टोरमा फरवार्ड हुने र उनीहरूले सामानको डेलिभरी गर्ने गुप्ताले बताए ।
पसलहरूबीच सामान अर्डरका लागि निकै लोकप्रिय बन्दै गएको यो प्ल्याटफर्ममा अन्यको तुलनामा निकै सस्तो मूल्यमा सामान पाइने बताइएको छ ।
‘उत्पादन गर्ने कम्पनीले सोझै यहाँ राख्दा सामान धेरैतिर घुमेन, नाफा कतै पनि बाँडिएन, दुईबीच मात्र कनेक्सन हुँदा र हामी माध्यम बन्दा सामान उपभोक्ताले पनि सस्तोमा पाउँछन्, यसरी पसलले सामान लग्दा अन्य ठाउँबाट ल्याउँदाको भन्दा सस्तो हुन्छ, यो ग्यारेन्टी भयो ।’ गुप्ताले केन्द्रबिन्दुसँग भने ।
गुप्ताले यस प्ल्याटफर्म मार्फत गुणस्तरीय सामान पाउने बताउँदै उत्पादन गर्ने कम्पनीलाई धेरै ठाउँबाट सामानको रकम संकलन गर्ने झन्झट पनि नहुने बताए । पसलमा राखेको सामान बिक्री नभएर म्याद सकियो वा ड्यामेज भयो भने कम्पनीले उक्त सामान फिर्ता लगिदिने छ ।
‘अरू ठाउँबाट ल्याएको सामानको डेट सकिएपछि फिर्ता लग्न महिनौँ लगाइदिन सक्छन्, तर यो सिस्टमबाट सामानको डेट सकियो भनेर सम्बन्धित पसलले जानकारी पठाउन सक्छन् ।’ उनले भने ।
उक्त सिस्टमबाटै पसलहरूले आफूलाई चाहिएको सामग्री छनोट गरी अर्डर दिन सक्नेछन् । गुप्ताका अनुसार अन्य अनलाइन प्ल्याटफर्मभन्दा यो फरक रहेको छ ।
‘अन्य प्ल्याटफर्ममा जस्तोसुकै सामान पाइन्छ, अर्थात् त्यहाँ राखिने सामान गुणस्तरीय छन् भनेर थाहा हुँदैन । तर यहाँ आयातकर्ता साथै उत्पादनकर्ताले ल्याएका वा तयार गरेका सामान यहाँ पाइने भएकाले गुणस्तरीय छैन भनेर दुविधामा पर्नुपर्दैन ।’ उनले भने ।
निम्बस बजारमा सोझै वस्तु उत्पादन गर्ने कम्पनीबाट सामान आउने हुँदा अर्डर गर्दा गुणस्तरीय सामान मात्र पाइनेछ । वस्तु उत्पादक कम्पनी र आयातकर्ताहरूलाई लक्षित गर्दै खोलिएको यो प्ल्याटफर्मले कम खर्च र सस्तो भाडाका साथै छोटो समयमै सामान डेलिभरीको सुविधा प्रदान गर्ने विश्वास लिइएको छ ।
अनलाइनबाट पनि खाद्य सामग्री अर्डर गर्न मिल्ने
कम्पनीले पसल मात्र नभई अनलाइन प्ल्याटफर्म निम्बस बजार डटकम मार्फत उपभोक्तालाई खाद्यान्नका सामग्री उपलब्ध गराउँदै आएको छ । नेपालमा पछिल्लो समय अनलाइनबाट सामान किन्ने कल्चर बढ्दै जाँदा सहज र सुरक्षित तरिकाले सामग्री किन्ने अवसर प्रदान गर्न निम्बस बजार डटकम सञ्चालनमा आएको हो ।
यो सेवा निम्बस बजारको एपलाई डाउनलोड गरेर पनि लिन सकिने गुप्ताले जानकारी दिए । उक्त प्ल्याटफर्मभित्र गुणस्तरीय खाद्य सामग्री पाइने छ । ‘निम्बस बजारले अनलाइन खाद्य सामग्री खरिद गर्ने प्ल्याटफर्म हो, यहाँ खाद्यान्नका सम्पूर्ण सामग्री पाइन्छ, कस्ता सामाग्री तपाईँलाई आवश्यक पर्छ त्यो छनोट गर्न सक्नुहुन्छ ।’ उनले भने ।
कोभिड–१९ को समयमा मान्छे घरभित्रै थुनिँदा घरघरमा खाद्य सामान पुर्याउने उद्देश्य बोकी सञ्चालनमा आएको यो प्ल्याटफर्म अहिले आम उपभोक्ताबीच निकै लोकप्रिय बनिसकेको छ । खाद्यान्नको खरिदमा नयाँ अनुभव प्रदान गर्न सञ्चालनमा आएका निम्बस बजार डटकमबाट सामान किन्दा कम्पनीले निःशुल्क डेलिभरीको सुविधा दिँदै आएको छ ।
अनलाइन माध्यमले उपभोक्ताहरूलाई घरबाट बाहिर जानु नपर्ने सुविधा दिने यस प्ल्याटफर्मको मोबाइल एप्लिकेसन र वेबसाइटहरू मार्फत खाद्य सामग्रीहरू सजिलै अर्डर गर्न सकिन्छ । जसमा खाद्यान्नका सामग्रीहरू उचित मूल्यमा पाइने गुप्ताको भनाइ छ ।
विशेष गरी व्यस्त दिनचर्यामा रहेका मानिसहरूले आफ्नो समय बचत गर्नका लागि यस प्ल्याटफर्मबाट सामान किनमेल गर्नु निकै उपयुक्त हुनसक्छ । गुणस्तरलाई प्राथमिकतामा राख्दै अनलाइनबाट सामान बिक्री गरिराखेको यो अनलाइन प्ल्याटफर्म मार्फत उपभोक्ताले एकै स्थानमा धेरै ब्राण्ड र प्रकारका खाद्य सामग्रीहरू छनोट गर्न सक्छन् ।





























प्रतिक्रिया