पोखरा
सवारी चापले साँघुरिँदै गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव आएको छ । चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ ।
गण्डकी प्रदेश सरकारले चक्रपथको विषयमा सम्भाव्यता अध्ययन गर्न संघ सरकारसँग अनुमति मागेको छ । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार, प्रस्तावित चक्रपथमा चिनियाँ कम्पनी पावर चाइना सिपिङ पावर लाइन हाडवेयर कम्पनी लिमिटेडले चासो देखाएको छ । र यसको सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारले अनुमति मागेको बस्नेतले जनाए ।
चक्रपथको विषयमा सोही चिनियाँ टोलीलाई नमुना समेत देखाइएको थियो । प्रस्तावित चक्रपथले पोखरा महानगरपालिका र तनहुँको शुक्लागण्डकीलाई समेत समेट्ने छ । प्रारम्भिक अध्ययनको काम सकेर महानगरले एक सय २० किलोमिटर लामो चक्रपथ निर्माणको प्रस्ताव अघि सारेको हो । महानगरको प्रस्तावमा एक सय १२ किलोमिटर लामो सडक र आठ किलोमिटर सुरुङमार्ग निर्माण हुने उल्लेख छ ।
कास्कीको तल्लो गगनगौंडाबाट सुरु हुने रिङरोड तनहुँको गाछेपानी हुँदै सेतीनदीको पुलबाट पुनः कास्की प्रवेश गर्नेछ । त्यहाँबाट लामगादी चोक, माथील्लो पुँडीटार, भरतपोखरी, कृष्ती, फुस्रेखोलाबाट पुम्दीभुम्दी लगिनेछ । पुम्दीडाँडाबाट फेवातालसम्म १.६ किलोमिटर लामो सुरुङबाट चापाकोट निकालिने छ । भदौरे हुँदै हर्पनखोला, घाँटीछिनाबाट ३.३ किलोमिटर लामो सुरुङ खनेर घट्टेखोला निकालिने छ ।
महानगरले तयार गरेको प्रारम्भिक प्रतिवेदनले चाहिँ रिङरोड तयार गर्न करिब १८ अर्ब रुपैयाँ लाग्ने देखाउँछ । एक सय १२ किलोमिटर सडकका लागि पाँच अर्ब ६० करोड र ८.२ किलोमिटर सुरुङमार्ग बनाउन १२ अर्ब ३० करोड लाग्ने बताइएको छ ।
नागरिकबाट





























प्रतिक्रिया