काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा यसअघि नै प्लेअफमा पुगिसकेको जनकपुरलाई चितवनले ३२ रनले पराजित गरेको हो ।
चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १८ ओभरमा १४८ रन बनाउँदै अलआउट भयो । जनकपुरका लागि जीमी नीशकले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाएपनि जिताउन सकेनन् । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने ।
उनले २४ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे ।
यसैगरी ओपनर आसिफ शेखले २३ रन बनाउँदा भल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए । त्यसअघि आशा गरिएका कप्तान अनिल शाह, लाहिरु मिलान्था र हर्ष ठाकर सस्तैमा आउट भएका थिए ।
बलिङतर्फ चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ लिँदा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो । उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए ।
जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक/एक विकेट लिए ।
चितवनको यो महत्वपूर्ण जितले प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । चितवनले ७ खेलबाट ८ अंक जोडेको छ । आइतबार हुने काठमाडौँ गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । उक्त खेलमा काठमाडौँ गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ । यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुङ्गो रनरेटका आधारमा हुनेछ । जारी प्रतियोगिताबाट लुम्बिनी लायन्स यसअघि नै बाहिरिएको छ भने आजको खेलपछि बिराटनगर किङ्ग्स र पोखरा एभेञ्जर्स पनि प्रतियोगिताबाट बाहिरिएका छन् ।





























प्रतिक्रिया