नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्छुः उपप्रधानमन्त्री सिंह

नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्छुः उपप्रधानमन्त्री सिंह

केन्द्रबिन्दु
27
Shares

त्रिवेणी (नवलपरासी) । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणमा देखिएका समस्या समाधान गर्ने विश्वास दिलाएका छन् ।

नवलपुरको कावासोतीमा जिल्ला समन्वय समिति नवलपुरले आज आयोजना गरेको नमूना सदरमुकाम निर्माणसम्बन्धी अन्तरक्रियामा मन्त्री सिंहले सदरमुकाम निर्माणका लागि बजेटको व्यवस्था भए पनि रूख कटानको विषयले गर्दा काम अघि बढ्न नसकेको भए पनि यसको गाँठो फुकाउन आफूले पहल गर्ने बताए ।

रूख कटानको विषय र भूमिको विषयमा सम्बन्धित मन्त्रीसँग समन्वय गरी सदरमुकाम निर्माणमा देखिएको प्राविधिक समस्या समाधानमा चाँडै पहल गर्ने उपप्रधानमन्त्री सिंहले बताए । देश केन्द्रीकृत एकात्मक व्यवस्थाबाट सङ्घीयतामा गएपछि बन्न लागेको नमूना सदरमुकाम सबैले हेर्न चाहेकाले यसलाई कार्यान्वयनका लागि विधि, प्रक्रिया पूरा गर्न आफू लागिरहेको र थप पहल गर्ने बताए ।

“काम सबैले छिटो गरौँ भन्ने नै हुन्छ, तर चाहेर मात्र नहुँदो रहेछ, त्यसका विधि, प्रक्रियाहरू पुर्‍याउँदै लैजानुपर्ने रहेछ, अहिले जुन गाँठो परेको छ, त्यसलाई फुकाउन लागि परिरहेको छु”, उपप्रधानमन्त्री सिंहले भने, “समस्या समाधान गरेर चाँडै यो योजना अघि बढ्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

Logo