यतिबेला सामाजिक सञ्जाल फेसबुक र युट्युवमा एउटा भिडियो भाइरल बनिरहेको छ । ‘फुल केस स्टडी अफ नेपाल’ शिर्षकको यो भिडियो भारतीय मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले बनाएका हुन् ।
अहिले धेरै नेपालीले यो भिडियो शेयर गर्दै सरकारलाई गाली गरिरहेका छन् । कतिपयले आफ्ना सर्कलका साथीहरुलाई इन्बक्समार्फत भिडियो फर्वाड गरिरहेका छन् । भिडियो नेपालीहरु माझ यतिधेरै लोकप्रिय बनेको छ कि यो सामाग्री तयार पार्दासम्म नेपालको ट्रेन्डिङ नम्वर १४ मा पुगिसकेको छ । यो भिडियो झण्डै १० लाख पटक हेरिएको छ भने १६ हजार भन्दा बढी प्रतिक्रियाहरु आएका छन् ।
करिव १५ मिनेटको यो भिडियोमा नेपालको अवस्था एकदमै नाजुक भनेर चित्रण गरिएको छ । भिडियोमा प्रस्तुत गरिएको तथ्यांक र अन्य कुराहरुलाई नजरअन्दाज गर्दा बिन्द्राले करिव १५ बर्ष अगाडिको नेपालको बारेमा उल्लेख गरेको देखिन्छ । त्यसकारण यतिबेला नेपालको वर्तमान अवस्थाबारे जानकारहरु भिडियोले नेपालको भ्रामक प्रचार गरेको भन्दै प्रतिवाद गरिरहेका छन् ।
के के गलत ?
भिडियोमा नेपालको मुद्रास्फिती दर १० प्रतिशत र आर्थिक वृद्धिदर साढे एक प्रतिशत भनिएको छ । तर नेपालको पछिल्लो तीन आर्थिक बर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारीमा छ । गत आर्थिक वर्ष २०७४/७५ मा नेपालको मुद्रास्फिति ४.५ प्रतिशत थियो भने आर्थिक वृद्धिदर ५.९ प्रतिशत थियो । त्यस्तै आव २०७३/७४ मा मुद्रास्फिति ४.५ प्रतिशतमा थियो भने आर्थिक वृद्धिदर ७.४ प्रतिशत थियो । चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
भिडियोमा उल्लेख गरिएको अर्काे झुट हो लोडसेडिङ । बिन्द्राले भिडियोमा नेपालमा १२ घण्टाभन्दा बढी लोडसेडिङ छ भनेर उल्लेख गरेका छन् । जबकी नेपाल सरकारले नै लोडसेडिङ अन्त्य भएको घोषणा गरिसकेको छ । अनौठो त के छ भने अहिले नेपालले भारतलाई नै विद्युत बेच्दै आएको छ । विद्युत प्राधिकरणले सके जति विद्युतको उपयोग गर्न आग्रह गर्दै आएको छ ।
त्यसैगरी बिन्द्राले नेपाल विश्वकै गरिब देशहरुको सूचि २५ औं स्थानमा पर्ने भनेका छन् । तर अवस्था त्यस्तो छैन । यसको सूचिमा नेपालको स्थान ३३ औं स्थानमा पर्छ । त्यस्तै १ करोड जनसंख्या गरिबीको रेखामुनी रहेको देखाइएको छ । गरिबीको रेखामुनि रहेको जनसंख्या करिब ७० लाख हो । बरु भारतमा गरिवीको भयावह अवस्था छ । गरिब जनसंख्या रहेको देशहरुको सूचिमा भारत विश्वमै दोस्रो नम्बरमा रहेको छ ।
भिडियोमा अर्काे पनि भ्रामक कुरा उल्लेख छ । ८० प्रतिशतभन्दा बढी नेपाली जनता गाउँमा बस्ने र ७३ प्रतिशतभन्दा बढी मानिसहरुसंग पानीको सुविधा नभएको भिडियोमा उल्लेख छ । तर नेपालमा खानेपानी अभाव झेलिरहेका जनसंख्या १३ प्रतिशत मात्र छ ।
त्यसै गरेर भिडियोमा नेपालमा कुनै पनि प्राकृतिक सम्पदा खनिज पदार्थ नरहेको भनिएको छ । तर नेपालमा थुप्रै खनिज पदार्थ रहेको फेला परेको छ भने प्राकृतिक सम्पदाले भरिपूर्ण छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७४/७५ मा नेपालीको औसत आय प्रतिवर्ष एक हजार चार डलर रहेको जनाएको छ तर बिन्द्राले भिडियोमा नेपालको ५० प्रतिशत जनता दैनिक एक डलरभन्दा कममा जीवनयापन गरिरहेको भनेका छन् ।
उनले नेपालमा शिक्षामा न्यून लगानी रहेको भनेका छन् जवकी नेपालमा सबैभन्दा बढी बजेट शिक्षाकै लागि विनियोजन गरिँदै आएको छ । अचम्म त के छ भने भारतमा अघिल्लो वर्ष शिक्षालाई जीडीपीको ३.५ प्रतिशत बजेट छुट्याइएको थियो तर नेपालमा ४.४५ प्रतिशत छुट्याइएको छ । नेपालमा शिक्षाको स्तर अत्यन्त नाजुक भएकै कारण नेपालीहरु विदेश पढ्न जान्छन् भनेर उनले हास्यास्पद तर्क गरेका छन् ।
अर्काे झुट हो बालविवाहको तथ्यांक । उनले ४० प्रतिशतभन्दा बढी बालिकाहरुको बालबिबाह हुने गरेको देखाएका छन् तर उनकै देश भारतमा बालविवाहको अवस्था भयावह छ । भारतमा ४७ प्रतिशतभन्दा बढी बालिकाहरु १८ वर्ष भन्दा अगाडि नै विवाह गर्ने गरेको तथ्यांक छ । यूनिसेफको २०१७ को प्रतिवेदनलाई आधार मान्ने हो भने विश्वमै सबैभन्दा बढी बालविवाह हुने देशको सूचिमा भारत पहिलो स्थानमा छ । तर नेपाल टप १० भित्र पनि पर्दैन । विश्व मानव विकास सुचकांकलाई हेर्ने हो भने भारत एक सय ३० औं स्थानमा छ तर नेपाल भारतभन्दा १९ स्थान तल छ ।
त्यस्तै गरी उनले अंग्रेज लगायतका बिदेशी शक्तिले नेपाललाई आफ्नो कब्जामा लिन नसकेको नभई गरिबी र कमजोर अर्थतन्त्रका कारण नचाहेको भनेर तर्क गरेका छन् । नेपाली इतिहासको अलिकति पनि जानकारी राखेको भए उनले यतिसम्म तल्लोस्तरको अभिव्यिक्त दिन सक्दैनथे ।
भिडियोमा समावेश तथ्य र तथ्यांकहरु हेर्दा उनले जानाजान नेपालको दुष्प्रचार गर्न खोजिएको जस्तो देखिन्छ । उनले नेपालमा ७५ जिल्ला रहेको बताएका छन् जवकी अहिले नेपालमा ७७ वटा जिल्ला छन् ।
उनले नेपालमा व्यवसायको कुनै वातावरण समेत नभएको बताएका छन् । उनले नेपालमा बिजुली र सडकको पहुंच समेत नभएको भनेर भ्रामक प्रचार गरेका छन् । यतिधेरै गलत प्रचार गरीसकेपछि बिन्द्राले अन्त्यमा ‘बाहुबली रजनिकान्त होईन गोर्खाली हुन्’ भनेर नेपालीलाई खुसी पार्न खोजेका छन् ।
नेपालीहरुको विरोध
बिन्द्राले बनाएको भिडियोमा जानकार नेपालीहरुले भने विरोध जनाएका छन् । धेरैले उनलाई वर्तमान तथ्यांकलाई केलाउन सुझाएका छन् । भिडियोमा कमेन्ट गर्दै आयुस पोखरेलले सत्य तथ्यांक प्रस्तुत गर्न र त्यसको स्रोत खुलाउन आग्रह गरेका छन् ।
त्यस्तै सुमन देवकोटाले यस्तो गलत तथ्यांक प्रस्तुत गरेर विवाद निम्त्याउन खोजेको भन्दै ९५ प्रतिशत तथ्यांक गलत भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै सुमी सुमी नाम गरेका प्रयोगकर्ताले भने नेपालीहरुलाई नै भिडियोको पछि नलाग्न सुझाएकी छिन् ।
त्यस्तै सुमिना गुरुङले नेपालमा भन्दा भारतमा बढी गरिवी र भिकारी भएको भन्दै पहिले आफ्नै देशलाई बुझ्न बिन्द्रालाई सुझाव दिएका छन् । निकै आक्रोशित प्रतिक्रिया दिँदै उनले हचुवाको भरमा बेइजत नगर्न भनेकी छन् ।
त्यस्तै महेश थपलियाले विकिपेडियाको तथ्यांक प्रस्तुत गर्दै भारतको नाजुक अवस्था दर्शाइदिएका छन् । त्यसै गरेर प्रेम रेग्मीले ९० प्रतिशत गलत र १० बर्ष पुरानो तथ्यांक प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । अर्काे भ्युअर सागर भण्डारीले ९९ प्रतिशत नेपालीको आप्mनै घर रहेको र भोकमरीले कुनै पनि नेपालीले मृत्युवरण गर्नु नपर्ने उल्लेख गरेका छन् । अर्का भ्युअर सेवाङ रिग्जिन सालकाले वास्तविक तथ्यांक केलाउन र मजाक नगर्न सुझाव दिउका छन् ।
नेपालको भ्रामक प्रचार गर्ने को हुन् विवेक ?
मोटिभेसनल स्पिकर र लिडरसिप ट्रेनरका रुपमा परिचित डा. बिन्द्रा विवादित व्यक्ति पनि हुन् । उनी १९७८ मा भारतको दिल्लीमा जन्मेका हुन् ।
बिन्द्राले आफ्नो नाम अगाडि लेख्ने गरेको डा. पद विवादित छ । उनले कुनै पनि विषयमा एमबीबीएस र पीएचडी गरेका छैनन् । कोलम्बोको ओईयूएम यूनिभर्सिटीले उनलाई मानार्थ पीएचडीको उपाधि दिएको थियो । त्यसैका आधारमा उनले आफ्नो नाम अगाडि डा. लेख्दै आएका हुन् ।
उनी भारतमा समेत आलोचित व्यक्ति हुन् । उनीविरुद्ध भारतमा डाक्टरहरुले एफआईआर दर्ता गरेका थिए । उनले डाक्टरहरुविरुद्ध ‘घृणा फैलाउने’ अभिव्यक्ति दिएका थिए । उनले एउट भिडियो बनाएर डाक्टरहरुलाई ‘सेतो कोट लगाएका हत्याराहरु’ भनेका थिए ।































प्रतिक्रिया