काठमाडौं । विनोद भण्डारीको सानदार अर्धशतकीय इनिङको मदतमा सुदूरपश्चिम रोयल्स जारी पहिलो संस्करणको सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्समाथि ८ विकेटको प्रभावशाली जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
लिग चरणको खेलमा पनि सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । आज पनि त्यही सनसनीपूर्ण जित निकाल्न सफल भएको हो । अब सुदूरपश्चिम सिधैं फाइनल प्रवेश गर्दा जनकपुरले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग खेल्नुपर्ने भएको छ । आजै कर्णाली चितवन राइनोजलाई हराउँदै क्वालिफायरमा प्रवेश गरेको हो । अब दोस्रो क्वालिफायरको विजेता र सुदूरपश्चिमले उपाधीका लागि शनिवार खेल्नेछन् ।
कीर्तिपुरस्थित टियु मैदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ५८ रनको योगदान गरे । ५५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहे । यसैगरी ओपनर जेश जैबले ३२ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । ब्राण्डन म्याकमुलनले २५ रन बनाउँदा १६ बल खेलेका कप्तान दीपेन्द्रसिंह ऐरीले एक चौका र एक छक्काको मदतमा २० रन जोडे ।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र किशोर महत्तोले समान एकएक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको थियो । आज जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । २३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । राम्रो सुरुवात गर्न नसकेको जनकपुरका लागि यो इनिङ निकै महत्वपूर्ण बन्यो ।
नियमित कप्तान अनिल साह उपलब्ध नभएको खेलमा आज आशिफ शेखले कप्तानी सम्हालेका थिए । उनले १० बलमा ११ रन मात्रै जोडे । यसैगरी शुभ कंसाकारले २६ रन जोड्दा हर्ष ठाकर १२ रन, अरनिको यादवले ११ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । साथै शेफ जैबले २ विकेट लिँदा स्कट कुग्गलेलिन र अविनाश बोहोराको नाममा समान एकएक रह्यो ।





























प्रतिक्रिया