देशभरको मौसममा बदली, हिमाली क्षेत्रमा हिमपात

देशभरको मौसममा बदली, हिमाली क्षेत्रमा हिमपात

केन्द्रबिन्दु
0
Shares

पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ। राजधानी काठमाडौं उपत्यकासहित पश्चिम नेपालमा बिहानैदेखि बादल लागेको छ भने पूर्वी भागमा पनि यसको प्रभाव देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ राजधानी उपत्यका हल्का वर्षा हुने बताएको छ । यसअघि पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो भने चन्द्रागिरी, फूल्चोकीलगायत डाँडामा हिउँ परेको थियो।

त्यस्तै बाजुरामा हिमपात भएको छ । पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भएको हो । पुसमा मात्र दुई पटक हिमपात भएको थियो ।

हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । हिमपात एकाएक भएको हो । दिनभर घाम लागेको थियो ।

मध्यरात एकाएक मौसम बदली भएर हिमपात भएको हो । जिल्लाका हिमाली गाउँपालिकाको रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ ।सदरमुकाम आसपासको जङ्गलमा झण्डै आधा फिट हिउँ जमेको छ । सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ । हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ । मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेको छ ।

हिमपात हुँदा एसइई तयारी गर्न ‘ट्युसन’ पढ्ने विद्यार्थीको समेत बिहानको पढाइ बन्द भएको छ ।

Logo