काठमाडौँ । नेपाल रोड रेसिङ च्याम्पियनसिपको फाइनल राउन्डअन्तर्गत शुक्रबार र शनिबार सम्पन्न इभेन्टको नेसनलतर्फ श्रीहरी पौडेल विजेता बनेका छन् । त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजेता बनेका छन् ।
च्याम्पियनसिपको नेसनलतर्फ फर्स्ट रनर अप दिलिप दनुवार र सेकेन्ड रनर अप युकेश थापा बने भने नोभिसतर्फ फर्स्ट रनर अप साकार श्रेष्ठ र सेकेन्ड रनर अप रुमु हाङ राई बनेका छन् ।
फाइनल राउन्डका विजेताहरूले क्रमशः ७७ हजार, ५५ हजार र ४४ हजार नगदका साथै ट्रफी र मेडल प्राप्त गरेका छन् । नासा नेपालका अध्यक्ष दशरथ रिसाल र नासा नेपाल एवं मोटर स्पोर्ट्स नेपालका पदाधिकारीहरूले विजयी खेलाडीलाई ट्रफी र मेडलका साथै नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा यो प्रतियोगिता आयोजना भएको हो । सो च्याम्पियनसिपअन्तर्गत नेसनल र नोभिस गरी दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । नोभिसअन्तर्गत पहिलो पटक सहभागी राइडरहरू सम्मिलित थिए भने नेसनलमा पहिले नै सहभागी राइडरहरू सहभागी थिए । सबै गरी ४६ राइडरहरु फाइनल राउन्डमा सहभागी भएका थिए ।
मोटर स्पोर्ट्स नेपाल क्लबले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँगको सहकार्यमा आयोजना गरेको सो च्याम्पियनसिपको सबै सिजनका लागि अफिसियल पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो । त्यसैगरी अफिसियल टु ह्विलर पार्टनर यामाहा नेपाल र सेफ्टी गियर पार्टनर कवच गियर रहेको थियो भने एटायर पार्टनर युथ कलेक्सन रहेको थियो ।
सो च्याम्पियनसिपलाई भाल्वोलिन, रेप्सोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फ, एभरेष्ट लगायतका लुब्रिकेन्टको सहयोग रहेको थियो भने धेरै लुब्रिकेन्ट कम्पनीहरूले राइडरहरूलाई स्पोन्सर गरेका थिए ।
मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले आगामी दिनमा समेत यस प्रकारको च्याम्पियनसिप आयोजना गरिने बताए ।





























प्रतिक्रिया