मुगु । यतिबेला मुगुका अधिकांश युवाहरू रोजीरोटी एवं जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन् । गाउँमा रोजगारीका अवसरहरू नभएपछि उनीहरू ठूला शहर र भारततर्फ गएका हुन् ।
‘गाउँमा उत्पादन गरेको खेतीले परिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, वर्षेनि बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरूले गाउँ छाडेका हुन् ।
स्थानीय सरकारले पनि रोजगारमुखी कार्यक्रमहरू नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीय बताउँछन् ।
जिल्लाका सोरु गाउँपालिका अन्तर्गत धैन, कालै, भिई, नार्थर्पु, फोतु, लिब्रु, कच्र्चे, रुम, ख्याल्च, बुम्च, सिरुपटा, खत्याड गाउँपालिकाको अमाले, लुमेरा, सेरी, जाम, जुम्फै, गम्था, कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरूका साथै छायाँनाथ रारा नगरपालिका अन्तर्गत रुगा, रोवा, पिना, कार्कीवाडा, ढुम, बाम, मुन्दर कोटीला थार्प, तिर्थलगायत पाँच दर्जन गाउँका युवाहरू पलायन भएका हुन् ।
सोरुगाउँपालिका–९ की असौजी नेपाली भन्छिन्,‘गाउँ यतिबेला युवाविहीन छ । कोही बिरामी परिहाले स्वास्थ्य केन्द्र पुगाउने, विवाह–ब्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ ।’
स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरूमा आफ्ना नातागोताले अवसर पाउने गरेको उनले गुनासो गरिन् । मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यक्रमहरु ल्याएको दाबी गरेका छन् । यहाँ अधिकांस युवाहरू भारतका विभिन्न शहरलगायत नेपालका काठमाडौँ, धरान, बुटवल, चितवन, नेपालगन्ज र भैरहवालगायतका शहरमा युवाहरु मजदुरी र व्यापार गर्न जाने गरेका छन् ।
स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरूमा आफूहरूको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरु गाँउपालिका–९का जाडनाथ योगीको भनाइ छ ।
तर सोरु गाउँपालिकाले युवाहरूलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरु ल्याएको दाबी गरेको छ । युवा पलायन रोक्न भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष केशरजंग शाही बताउँछन् ।































प्रतिक्रिया