सबै सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक लागू हुन्छ : सञ्चारमन्त्री

सबै सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक लागू हुन्छ : सञ्चारमन्त्री

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनु भएको छ ।

आज नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २१ औं साधारणसभाको उद्घाटन गर्दै उहाँले श्रमजीवी पत्रकार एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “न्यूनतम पारिश्रमिक लागू भयो भने सञ्चारमन्त्रीलाई कसरी सिकाउनुपर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान्, तर नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिँदैन, जो सुकै मन्त्री भए पनि यो सरकारले श्रमजीवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्छ ।”

पत्रकारले आफ्ना पेशागत कुरा गर्नुपर्नेमा आन्दोलनकारीको माग पूरा गर भन्नु गैरजिम्मेवारी हो भन्दै उहाँले पत्रकारले राजनीति गर्ने हो कि, समाचार लेख्ने हो, भन्नुभयो । सरकारले सबै क्षेत्रमा काम गरेपनि सरकारप्रति पूर्वाग्राही राखेर समाचार आउने गरेको टिप्पणी गर्दै उहाँले नेपालका मिडिया मालिकको चाहना अनुसार चल्ने गरेको बताउनुभयो ।

मिडियाले पत्रकारिता नगरी सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उहाँले सरकारविरुद्ध षडयन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गर्नुभयो । डा गोविन्द केसीले आफ्नो माग विरुद्ध आफैँ अनशन बसेको टिप्पणी गर्दै उहाँले नेपालको मिडिया केसीले देखाएको बालहटको पछि लागेका छन् भन्नुभयो ।

केसीको माग पूरा गर भनेर एउटा पत्रकारले भन्नु गलत भएको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भएको भए पनि पूरा गर्न सक्नु हुन्थेन, उहाँ आफैँ प्रधानमन्त्री भए पनि शतप्रतिशत माग पूरा गराउन सक्नु हुन्न ।”

महासङ्घले प्रकाशित गरेको स्मारिकाको विमोचनसमेत गर्दै मन्त्री बाँस्कोटाले आफू सरकारमा हुँदा केसीको माग पूरा नगर्ने अहिले माग पूरा गर्नुपर्छ भन्ने प्रवृत्ति गलत भएको बताउनुभयो
। कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले ठूला मिडियाले सरकारविरुद्ध अपवाह फैलाएर बद्नाम गराउन खोजेको आरोप लगाउनुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना विभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला जिल्लाबाट केन्द्रमा धाउनुपर्ने अवस्थाको अब अन्त्य हुनुपर्नेमा जोड दिँदै सङ्घीय ढाँचा अनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकार दिनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभामा पत्रकार महासङ्घ भक्तपुरको भवन निर्माण गर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्नुपर्ने, साना सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दोब्बर गर्दै समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने लगायतका आठ बुँदे घोषणापत्र जारी गरेको महासङ्घ भक्तपुरका अध्यक्ष एवं कार्यक्रममा सभापति पुष्करराज बुढाथोकीले बताउनुभयो ।

कार्यक्रममा नगद दुई हजार ५०० को मैयादेवी स्मृति पत्रकारिता पुरस्कार नारायण किलम्बुलाई प्रदान गरिएको थियो ।
रासस

Logo