दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

केन्द्रबिन्दु
0
Shares

सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ ।

राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गरेपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।

हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानून घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा परेको छ ।

यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो तर महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

तर कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च भर्नका लागि तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोके ।

त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ । “हामीले प्रस्ताव पेस गरेका छौँ… र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौँ”, सांसद पार्क सुङ–जुनले हान विरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भने, “हामी यसलाई भोलि मतदानमा राख्नेछौँ ।”

“हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ”, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारहरूलाई भने ।

यदि अदालतले थप तीन न्यायाधीश बिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै छ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । एक मात्र असहमति मतले युनलाई पुनर्बहाली गर्नेछ । -एएफपी

Logo