रोजगार संयोजक छनोट प्रक्रिया सबै कम्प्युटरबाट, के काम गर्नुपर्छ ?

रोजगार संयोजक छनोट प्रक्रिया सबै कम्प्युटरबाट, के काम गर्नुपर्छ ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजक नियुक्त गर्न आवेदन खुलेको छ । प्रत्येक स्थानीय तहअन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीका लागि शुक्रबारदेखि आवेदन खुला गरिएको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ अनुसार मन्त्रालयले विज्ञापन गरेको हो ।

मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह) को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहालले जानकारी दिए ।

स्वीकृत दरबन्दीमा शुक्रबारदेखि अनलाईन फारम भर्ने व्यवस्थासहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफैँले अनलाइन फारम भर्न सक्नेछन् । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको प्रमुख दाहालको भनाई छ ।

रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ ।

पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा तीनजनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइने छ ।

कम्युटर ज्ञानको नतिजा पनि सफ्टवेयर मार्फत नै तत्काल निस्कनेछ । मन्त्रालयले फागुनभित्र सबै प्रक्रिया पूरा गरी रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत्र १ गतेबाट बेरोजगारहरुको सूचीकृत गर्ने काम सुरु हुने बताएको छ । रोजगार संयोजकको फारम http://www.pmep.gov.np/applications मा अनलाइनबाटै पनि भर्न सकिने छ ।

रोजगार संयोजकको के हो काम ?
रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन, विश्लेषण, बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी त्यसको सूचना दिने, स्थानीय तहभित्रको रोजगारीको सम्भावित स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने, रोजगारदाताका लागि श्रमिकका बारेमा जानकारी गराउने, रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने काम गर्नेछन् ।

त्यस्तै बेरोजगारहरुको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने, आफ्नो कामका बारेमा नियमित रुपमा सम्बन्धित गाउँ कार्यपालिका तथा नगर कार्यपालिकालाई जानकारी गराउने, ऐन तथा नियमावली बमोजिम आफूले गरेका कामका बारेमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रुपमा प्रतिवेदन पठाउने काम रोजगार संयोजकले गर्नुपर्ने छ ।

आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना दिने, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने सेवा र आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्‍याउने, वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई दिने भत्ता वितरण गर्ने काम गर्नुपर्नेछ ।

Logo