आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्रमन्त्री राणाद्वारा शिलान्यास

आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्रमन्त्री राणाद्वारा शिलान्यास

केन्द्रबिन्दु
30
Shares

कैलाली । कैलालीको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रमबिच शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।

उनले भनिन्, “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।”

यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा अपिल पनि मन्त्री डा. देउवाले गरिन् ।

त्यसैगरी उनले यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरुमा बढी भन्दा बढी लगानी गर्न पनि आग्रह गरिन् ।

“काठमाडौँको चन्द्रागिरि देखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरु निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,” उनले भनिन् ।

लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।
कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।

Logo