वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

वैकल्पिक वित्तीय स्रोत जुटाउन विधेयक ल्याउँदै सरकार

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् । नयाँ र वैकल्पिक वित्तीय स्रोत खोज्नका लागि नीतिगत व्यवस्था गर्न सरकारले विधेयक ल्याउने तयारी गरिरहेको पनि उनले बताए ।

“राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ”, अर्थमन्त्री पौडेलले भने, “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई सम्बोधन गर्नेगरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयारी गरेका छौँ र यसलाई छिट्टै कानुनी प्रक्रियामा प्रवेश गराउँदैछौँ ।”

अर्थ मन्त्रालयको आन्तरिक छलफलका क्रममा अर्थमन्त्री पौडेलले नेपालको तीव्र विकासका लागि नयाँ सोच र दृष्टिकोणका साथ अघि बढ्न आवश्यक रहेको र वैकल्पिक विकास वित्तबाट थप स्रोत जुटाउन तथा लगानी गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । “आर्थिक समृद्धिका लागि पूर्वाधारमा मात्र नभए र दक्ष जनशक्तिको विकास र सफ्टपावरमा पनि ठूलो लगानी गर्न जरुरी छ”, उनले भने, “वैकल्पिक वित्तले सार्वजनिक विकासका धेरै क्षेत्रमा सिर्जनशील र नयाँनयाँ दृष्टिकोणका लागि ढोका खोल्नेछ ।”

अर्थमन्त्री पौडेलले नेपालमा भएका विकासका धेरै कामप्रति अपनत्व लिँदै अघि बढ्न, थप स्रोत व्यवस्थापन तथा त्यसको परिचालनका लागि स्पष्ट योजनाका साथ खुला हृदयले अघि बढ्नुपर्नेसमेत धारणा राखे । “विकास र आर्थिक समृद्धिका लागि राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूले पनि विगतको आ–आफ्नो भूमिकालाई नयाँ ढङ्गले अघि बढाउनुपर्छ । सरकार पनि त्यसका लागि तयार छ”, उनले भने ।

Logo