भारतीय क्रिकेट टोलीका लागि बोझ बन्दै धोनी

भारतीय क्रिकेट टोलीका लागि बोझ बन्दै धोनी

केन्द्रबिन्दु
0
Shares

महेन्द्र सिंह धोनी अर्थात भारतीय क्रिक्रेट टोलीको अहिलेसम्मका सबैभन्दा सफल कप्तान । सम्भवतः महान् खेलाडी सचिन तेण्डुलकरपछि भारतीय क्रिकेटमा सबैभन्दा ठूलो नाम पनि । तर यही नाम अहिले भारतीय क्रिकेट टालीलाई बोझ बन्दै गइरहेको विश्लेषण गर्न थालिएको छ ।
पूर्व कप्तान धोनीमाथि फेरि एकपटक उनको ब्याटिङलाई लिएर आलोचना भएको छ । आफ्नो धुंवाधार ब्याटिङका लागि कहलिएका धोनी अहिले आएर उही ब्याटिङका कारण आलोचनाको शिकार भइरहेका छन् ।

अहिले भारतको क्रिकेट टोली विराट कोहलीको कप्तानीमा अष्ट्रेलियाको भ्रमण गरिरहेको छ । कोहलीले अष्ट्रेलियाली भूमीमा आफ्नो टोलीलाई टेष्ट सिरिजमा विजयी गराउदै इतिहास कायम गरिसकेका छन् । यसअघि यो इतिहास बनाउन धोनी, तेण्डुलकर, सौरभ गांगुली, कपिल देव कसैले पनि सकेका थिएनन् । अब कोहलीको टोली अर्को इतिहास रच्ने दाउमा छ । त्यो हो, टेष्ट सिरिजपछि एक दिवशीय श्रृखंला अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा जित्ने । अहिले जारी तीन एक दिवशीय श्रृखंला एक–एकको स्थितीमा आइपुगेको छ ।

जारी एक दिवशीय श्रृखंलामा धोनीको ब्याटिङ सुस्त भयो भनेर उनी आलोचित भएका हुन् । त्यसो त टोलीका अर्का युवा विकेटकिपर ब्याट्सम्यान रिसभ पन्तले टेष्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि धोनीमाथि त्यस्तै ब्याटिङ गर्न दवाब बढेको छ । पन्तले एउटा टेष्ट म्याचमा शतक समेत प्रहार गरेका थिए ।

भारतले आगामी विश्वकपलाई लिएर टोली तयार पारिरहेको छ । यस्तोमा धोनीलाई विश्वकपको टोलीमा सहभागि गराउने कि नगराउने भन्नेमा बहस शुरु भएको छ । धोनीले भारतीय राष्ट्रिय टोलीलाई दिएको योगदानका आधारमा टोलीमा राख्नुपर्ने धारणा बाहिर आइरहेका छन् । तर, यस्ता कुराले विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगितामा राष्ट्रिय टोली तयार पार्दा असर गर्ने स्वयं भारतीय कप्तान कोहली र टोलीका प्रशिक्षक रवि शास्त्रिले बताउदै आइरहेका छन् ।

के ३७ वर्षे धोनी साच्चैनै भारतीय क्रिकेट टोलीका लागि बोझ बनेका हुन् त ?

धोनी कै कप्तानीमा भारतले दुईवटा विश्वकप क्रिकेटको उपाधी जितेको छ । सन् २००७ मा क्रिकेटको छोटो संस्करण टि–ट्वान्टिको विश्वकप उपाधी भारतले धोनीको कप्तानीमा पाकिस्तानलाई हराउदै जितेको थियो । यस्तै, सन् २०११ मा श्रीलंकालाई आफ्नै भूमिमा पराजित गर्दै भारतलाई एकदिवशीय विश्वकप उपाधी दिलाउन कप्तान धोनीले महत्वपूर्ण भूमिका खेलेका थिए । दुई विश्वकपको उपाधी जिताइ सकेपछि भारतीय क्रिकेटमा मात्र नभई धोनी विश्व क्रिकेटमा नै हटकेक बनेका थिए ।

विराट कोहलीले बिस्तारै राष्ट्रिय टोलीबाट र ब्यक्तिगत स्तरबाटै सफलता पाउंदै गर्दा धोनीको योगदान भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, बीसीसीआईले बिर्सिएको एकथरि भारतीय क्रिकेटप्रेमीले आरोप लगाउने गरेका छन् । त्यसो त रिसभ पन्तजस्ता युवा र उदयीमान खेलाडीलाई समेटेर विश्वकप टोली तयार पार्नुपर्ने धारणमाथी पनि बहस जारी छ ।

आफ्ना धुंवाधार शटले विश्व क्रिकेटमा सन् २००७ देखि राज गरेका धोनीको ब्याट बिस्तारै उठ्न छाडेको तथ्य भने सांचो हो । सन् २००७ देखि २०१५ सम्म एकदिवशिय क्रिकेटमा धोनीको स्ट्राइक रेट ९० भन्दा माथी थियो । अहिले उनको स्ट्राइक रेट घटेर ६० भन्दा तल झरेको छ ।

भारतीय क्रिकेटप्रेमी धोनीलाई आउंदो विश्वकपसम्म एकदिवशिय टोलीमा राख्नुपर्ने बताइरहेका छन् । धोनीले एकदिवशिय क्रिकेटमा १० हजार भन्दा बढी रन बनाइसकेका छन् । धोनीले विश्वकप क्रिकेट जितेको अनुभव टोलीलाई काम लाग्ने उनीहरुको भनाई छ । युवा टोलीले मात्र विश्वकपको उपाधी कब्जा गर्न गाह्रो हुने उनीहरुको अनुमान छ ।

यस्तो अवस्थामा धोनीको अनुभवलाई कोहलीको जोशमा मिसाउनुपर्ने भारतीय क्रिकेटप्रेमीको धारणा छ । एकदिवशिय क्रिकेटको विश्वकप प्रतियोगिता आउँदो जून–जूलाई महिनामा ईङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

Logo