प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राइड सेयरिङ’ टुटल र पठाओलाई तत्काल चल्न दिन निर्देशन दिएका छन्।
बुधबार साँझ प्रसारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सरसल्लाह गरेको नभई कहिँकतैबाट भूलबस त्यस्तो भएको बताए।
‘यो ‘इनोभेसन’ वा खोजसँग जोडिएको कुरा त भन्न मिल्दैन किनभने यस्तो अभ्यास थाइल्याण्ड, भियतनामलगायत अरू देशमा पनि छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता अभ्यासहरू कानुनको दायरामा छैनन् भने हुनुपर्छ। किनकी परिवर्तित अभ्यासले कानुनको माग गर्छ, कानुनले परिवर्तित सन्दर्भको माग गर्ने होइन। यदि कोही कानुनी दायरामा आउन जरूरी छ भने कानुनी अभ्यासमा ल्याउन सकिन्छ।’
उनले यात्रु बोक्ने मोटरसाइकलमाथिको कारबाही अनौठो र अचानक भएको दोहोर्याए।
‘यो अनौठो अभ्यास अचानक कतैबाट भयो। कम्पनी दर्ता गरेर चलाउ भनेर आह्वान पनि गरेको छैन। तर पछाडि बसेको को हो भनेर चालकलाई सोध्ने। अनि चलाउने को हो र मोटरसाइकल कसको हो भनेर पछाडि बसेकाले सोध्ने अभ्यासतिर जानु वाञ्छनीय हुँदैन,’ प्रधानमन्त्री ओलीले भने,‘त्यसकारण कम्पनी दर्ता गर्ने कानुन बनाएर व्यवस्थित गर्ने दिशामा जानुपर्छ। अप्रत्यासित ब्रेक लगाउँदा त्यसमा समस्या आउन सक्छ।’
यसअघि मंगलबार ट्राफिक प्रहरीले निजी सवारीमा दर्ता भएका मोटरसाइकलले यात्रु ओसारेको भन्दै ५ मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो। सामाजिक संजालमा तिब्र आलोचना भएको थियो।





























प्रतिक्रिया