काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिनुपर्ने बताएका छन् । मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको उनले बताएका हुन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौा श्रम संसद्लाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत, साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए ।
उनले भने,‘श्रम र पूँजीलाई संगै अघि बढाउन आवश्यक छ । त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ ।’
आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रूपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे ।
‘निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु । सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि यही अवधारणाको जगमा खोज्नुपर्दछ ।’, उनले भने ।
यसैवर्ष जुनमा जेनेभामा सम्पन्न ग्लोबल कोलीसन फर सोसियल जस्टिस सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका श्रमिकहरूलाई सम्बोधन गर्दा पनि आफूले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा जोड दिएको विषय पनि उनले स्मरण गरे ।
नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामुहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हकका रुपमा रहन पुगेको उनले उल्लेख गरे ।
राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताए ।































प्रतिक्रिया