काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ नपरेको बताएको छ ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण जनाएकाे हाे ।
बैंकले विज्ञप्ति जारी गर्दै ग्राहक, सरोकारवाला र सर्वसाधारणमा यस समाचारले भ्रम सिर्जना गरेको र सत्यतासँग मेल नखाएको जनाएको छ ।
बैंकका अनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो ।
तर केही व्यक्तिहरूले ऋणी/जमानतीसँग मिलेर विरोध जनाएका थिए । उनीहरूले पुस ११, १२ र १४ गते बैंकका कार्यालयहरूमा नाराबाजी गरी सेवा अवरुद्ध गरेका थिए । यसपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी छलफलका लागि प्रहरी कार्यालयमा बैठक बसेको थियो ।
यस्तै बैंकको कर्जा भुक्तान नगरेका ऋणीको प्रचलित कानुनी प्रक्रिया अवलम्बन गरेर बैंकले धितो लिलामीको प्रक्रिया सम्पन्न गरेको बैङ्कले जानकारी दिएको छ ।





























प्रतिक्रिया