काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कार्यान्वयनयोग्य नीति निर्माणका लागि तथ्याङ्कलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताएका छन् ।
राष्ट्रिय तथ्याङ्क दिवस–२०८१ का अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुख्यसचिव अर्यालले तथ्याङ्क कार्यालयले उपलब्ध गराउने तथ्याङ्कका आधारमा सरकार, मन्त्रालय र विभागहरूले आ–आफ्ना नीति तथा योजना निर्माण गर्ने भएकाले उपलब्ध गराइने तथ्याङ्क अनुसन्धान र सत्यमा आधारित हुनुपर्ने बताएका हुन् । कार्यान्वयनयोग्य नीति निर्माण गर्न तथ्याङ्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले तथ्याङ्क सार्वजनिक गर्दा निश्चित मापदण्ड अपनाउनुपर्ने उल्लेख गरे ।
“हाम्रा नीतिहरू तथ्याङ्कमा आधारित हुन सक्यो भने ती प्रभावकारी र कार्यान्वययोग्य हुन्छन् । नीतिमा देखिएको दोहोरोपन तथा कार्यान्वयनमा देखिएको समस्या समाधान लागि प्रधानमन्त्री कार्यालयमा नीति प्रयोगशाला (पोलिसी ल्याब) समेत स्थापना गरिएको छ”, मुख्यसचिव अर्यालले भने, “निर्माण भएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न तथ्याङ्कको सही उपयोग गर्न आवश्यक छ । साथै तथ्याङ्क तयार पारी सार्वजनिक गर्ने समयमा निश्चित मापदण्ड र मानकहरू अवलम्बन गर्न आवश्यक छ ।”
(यसअघि भूलवश गलत फाेटाे पाेष्ट भएकाले सच्याएका छाैं ।)































प्रतिक्रिया