सरकारविरुद्ध निर्माण व्यवसायीले राष्ट्रिय भेला गर्ने

सरकारविरुद्ध निर्माण व्यवसायीले राष्ट्रिय भेला गर्ने

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले यही पुष २७ गते शनिवार राजधानीमा देशभरका निर्माण व्यवसायीहरूको प्रतिनिधित्व हुनेगरी ‘राष्ट्रिय भेला–२०८१’ आयोजना गर्न लागेको जनाएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण उद्योगप्रतिको सरकारले उदासीनता देखाएको भन्दै त्यसका विरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको भन्दै यही पुष २७ गते ‘राष्ट्रिय भेला–२०८१’ आयोजना गर्ने र सोही भेलाको म्याण्डेट अनुसार आन्दोलनका चरणबद्ध कार्यक्रमहरू गरिने जानकारी गराएका छन् ।

महासंघले खस्कँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र उकास्न सबैभन्दा महत्त्वपूर्ण क्षेत्र निर्माण भए पनि व्यवसायीहरूले हाल अत्यन्तै जटिल समस्याहरू र त्यसको प्रभाव भोगिरहनु परेको जनाएका छन् ।

राज्यबाट निर्माण व्यवसायीहरूलाई यस आर्थिक वर्षमा भएको आशिक भुक्तानि समेत विनियोजित बजेटबाट मात्र भुक्तानी भएको हुँदा यस वर्ष हुने थप निर्माण कार्यमा भुक्तानिको समस्याले पुनः जटिल रुप लिनसक्ने पनि महासंघको भनाइ छ ।

महासंघका अनुसार निर्माण कार्य सम्पन्न गरेबापत निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकम तत्काल निकास हुने भनी प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक मञ्चहरूबाटै पटक पटक प्रतिबद्धता जनाए पनि तद्अनरूप भुक्तानी नहुँदा निर्माण उद्योगमा मात्र नभई मुलुकको समग्र आर्थिक चक्रमा ठूलो समस्या उत्पन्न भइसकेको छ ।

यसबीचमा पनि महासंघले समस्या समाधानका लागि प्रधानमन्त्रीसहित विकास मन्त्रालयका मन्त्रीहरू, मुख्य सचिव, सचिवहरू र महानिर्देशकहरूलाई प्रत्यक्ष भेटी ज्ञापन पत्र बुझाउँदा समेत ठोस सुनुवाइ नभएको गुनासो रहेको छ ।

Logo