हराउँदै पठन संस्कृति, पुस्तक मोह हजुरबुवा र नातिको पुस्तामा

हराउँदै पठन संस्कृति, पुस्तक मोह हजुरबुवा र नातिको पुस्तामा


काठमाडौं । भृकुटीमण्डपमा चलिरहेको दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेलाको अवलोकन गरिरहँदा मेरा आँखा एक व्यक्तिमा गएर अडिए । उनी स्टलमा आफूलाई मन परेको पुस्तक छ, छैन नियाली रहेका थिए ।

मान्छे हेर्दा पाको उमेरका सायद उमेरको इट्टाले साढे छ दशक थपिएको हुँदो हो । कपाल लगभग फुलेको, हँसिलो मुहारका हेर्दा मिजासिलो लाग्यो । उनीसँग संवाद गर्ने इच्छा जाग्यो नजिक गएर कुरा गर्ने अनुमति मागेँ, मुसुक्क मुस्कुँराउँदै टाउको हल्लाएर हुन्छको संकेत उनले दिए ।

उनी थिए डा. विश्वराज जोशी, पेसाले चिकित्सक हुन् । पूर्व सोभियत संघबाट अध्ययन गरेका जोशी लामो समयसम्म विर अस्पतालमा कार्यरत रहि अहिले अवकासको जिवन बिताइरहेका छन् । उनी फुर्सदको समयमा पुस्तक पढ्न रुचाउँछन् ।

चिकित्सा क्षेत्रको व्यक्ति भए पनि उनलाई अन्य विधाका पुस्तकहरु पढ्न मन पर्छ । उनी साहित्यिक, राजनैतिक, ऐतिहासिक, आध्यात्मिक विधाका पुस्तकहरु अध्ययन गर्न रुचाउँछन् ।

आफ्नो जिवनकालमा पढेको पुस्तकमध्ये सबै भन्दा धेरै मन परेको पुस्तक ‘गोर्किको आमा’ हाे भने शिरिको फुल, घुम्ने मेचमाथि अन्धोे मान्छे, मुना मदन जस्ता धेरै पुस्तकहरु पनि पढेका छन् । हरेक वर्षमा एक चोटी ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ र ‘शिशिरको फुल’ पुस्तक किनेर पढ्ने र पढिसके पछि अरुलाई पढ्नको लागि दिने गरेको उनले बताए ।

डा. जोशी भन्छन्, ‘पछिल्लो समय डिजिटलाईजेशनले अनलाइन मै पढ्न र सुन्न पाइन्छ छ तर पुस्तक किनेर पढ्नुमा छुट्टै मज्जा छ । नयाँ पुस्तकको बास्ना लिँदै पढ्दा कस्तो अनुभुति हुन्छ त्यो पढ्नेलाई मात्र थाहा हुन्छ ।’

पुस्तकले भाषा, नयाँ कुराको ज्ञान, विभिन्न सामुदायिक तथा देशको संस्कृतिको ज्ञान दिने हुनाले सबै पाठकहरुलाई बरु कफी खाने पैसान जोगाएर पुस्तक किन्न सल्लाह दिए । उनले हेरिहेको पुस्तक देखाउदै भने यो पुस्तकको मूल्य ३२ सय छ । कसैलाई मन पर्यो भने महंगो भयो भन्दैन किनेर पढ्छ । पुस्तकको छपाई क्वालिटी अनुसार मूल्य निर्धारण गरिएको हुन्छ ।

पढ्न मन भयो भने महंगो र सस्तोले खासै फरक पर्छ जस्तो मलाई लाग्दैन उनले मुसुक्क मुस्कुराउँदै भने ।

विद्यार्थी कालदेखि नै पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्नमा रुचि राख्ने डा. जोशी समय समयमा आयोजना हुने यस प्रकारको प्रदर्शनीको अवलोकन गर्न छुटाउदैनन् ।

उनी भन्छन्, ‘पुस्तक प्रदर्शनीले पाठकको लागी सहजकर्ताको भूमिका खेल्छ । एकै ठाउँमा सबै प्रकारका पुस्तक पाइन्छन् । धेरै ठाउँमा घम्न पर्दैन । मत झन् ३/४ वटा भाषा बोल्छु । यो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीले म जस्ता पाठकलाई थप उर्जा भर्ने काम गर्छ । साथै पठन संस्कृतिलाई बचाइ राख्न पनि सहयोग गर्छ ।’

पछिल्लो समय पठन संस्कृति खस्कँदै गएको छ । युवा पुस्ताहरु पुस्तक किनेर पढ्ने गरेको त्यति देखिँदैन । युवाहरुले अनावस्यक कुरामा पैसा खर्च गरिरहेका हुन्छन् । अनावश्यक खर्च गर्नुको साटाे पैसा जम्मा गरेर पुस्तक किनेर पढ्नु पर्नेमा युवाहरुलाई सुझाव दिन्छन् उनले ।

दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक मेलाको अवलोकन गरेर फर्किदा मेलाको प्रवेशद्धारमा एक जना विद्यार्थीसँग भेट भयो । उनी मेलाको अवलोकन गरेर फर्किँदै थिए । पद्मोदय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत आविस्कार खत्री अन्तर्राष्ट्रिय पुस्तक मेला अवलोकन गर्न शिक्षक र साथीहरुसँग सहभागि भएका थिए ।

उनी विद्यालयको होमवर्क गरेर फुर्सद भएको समयको सदुपयोग, विदाको सदुपयोग पुस्तक पढेर गर्ने गर्छन् ।

कक्षा ८ देखि नै यस्ता पुस्तकमा रुचि राखेका उनी, प्राय जसो ईतिहासको पुस्तक पढ्न रुचाउँछिन् । इतिहासका पुस्तक पढ्नमा रुची भएतापनि आजसम्म पढेको पुस्तकमध्ये सबैभन्दा मन परेको पुस्तक हाे, ‘धनि बुवा गरिव बुवा’ । उनी भन्छन्, ‘यो पुस्तकमा बुवाको बारेमा लेखिएको छ, त्यसैले मलाई मन पर्छ ।’

पछिल्लो समय बालबालिकाहरु क्रियटिभ काम गर्नुभन्दा पनि मोबाइलमै धेरै ब्यस्त हुने गर्छन् । मोबाइलमा समय खर्चिनु भन्दा फुर्सदको समयमा पुस्तक पढ्न सुझाव दिन्छन् आविस्कार खत्री ।

हराउँदै पठन संस्कृति

भारतीय शिक्षाविद् जे कृष्णमूर्तिको भनाइ छ, ‘आजका बालबालिका तीनवटा स्क्रिनमा रमाउन थालेका छन्, मोबाइलको स्क्रिन, कम्प्युटरको स्क्रिन र टेलिभिजनको स्क्रिन । पुस्तक उनीहरूको छनोटमा पर्दैन ।’

पछिल्लो समय मानिसहरुमा किताब पढने सस्कृति बिस्तारै हराउँदै गएको छ । अहिले मोबाइल, कम्प्युटर र इन्टरनेटमा सामाजिक संजालका कारण मानिसकाे पढ्ने बानि हट्दै गएको सरोकारवालाहरु बताउँछन् । अध्ययन, चिन्तन र ध्यान मानिसका लागि महत्वपूर्ण पक्ष हो । सफल मानिसको सफलताको रहस्य नै अध्ययन हो । तर पछिल्लोसमय हामीमा पढ्ने संस्कृति विस्तारै हराउँदै गएको देखिन्छ ।

अझ पुस्तक किनेर पढ्ने पाठकको संख्या त न्यून देखिन्छ । यो कुरालाई दोस्रो दक्षिण एसियाली अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीले पनि पुष्टि गर्छ । प्रदर्शनी अवलोकन गर्नेको भिड बाक्लै भए पनि पुस्तक किनेर फर्किनेको संख्या भने न्यून थियो ।

कसरी जोगाउने पठन संस्कृति ?

पठन संस्कृति भन्नाले पढ्ने बानि भन्ने बुझिन्छ । तर पठन संस्कृति हट्दै जाँदा सम्बन्धित विषयमा लेखिएका लेख, पुस्तकहरू पढेर समस्याको पहिचान र समाधान गर्नतर्फ कोही पनि लागेको देखिँदैन ।

हरेक व्यक्तिले समाज पढ्नु पर्छ । सामाजिक, सांस्कृतिक एवं आर्थिक स्थितिको बारेमा प्रत्यक्ष रूपमा कुरा गर्न अघि सर्नुपर्छ । पठन संस्कृति बचाई राख्ने हो भने, किन र के का लागि पढ्ने बुझ्न जरुरी छ । साथै किताबले ज्ञान मात्र दिँदैन जिवन जिउने कला पनि सिकाउँछ भन्ने कुरा मनन गर्न सकियो भने सबैमा पढ्ने बानीको विकास हुन्छ ।

Skip This
Skip This
Logo