जो क्यान्सरपिडितका लागि लड्दा लड्दै आफै थलिए (भिडियोसहित)

जो क्यान्सरपिडितका लागि लड्दा लड्दै आफै थलिए (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

कुनै अप्रिय घटना तथा गम्भीर रोगबाट छुटकारा पाएकाहरुले आफ्नो बाँकी जीवन त्यस्तै पिडितहरुका लागि खर्चेको उदाहरणहरु प्रशस्तै पाइन्छन्।  तर यस्तो कुनै घटनाबिना नै त्यस्ता पिडितहरुका लागि निरन्तर साथ् र सहयोग जुटाउदै आएका व्यक्तिहरु कमै होलान्।  तिनै कमै व्यक्तिहरु मध्येका एक हुन् रोमहर्ष भण्डारी अर्थात क्यान्सरपिडितहरुका सारथी ।

दाङको तुलसीपुर १० का स्थायी वासिन्दा भण्डारी क्यान्सरपिडितहरुलाई साथ र सहयोग गर्न हरदम तम्तयार हुन्थे । त्यसैले उनी स्थानीय माझ समाजसेवीका रुपमा परिचित छन् ।

लामो समयदेखि क्यान्सर रोगविरुद्धको सचेतना अभियानमा सक्रिय भण्डारी अर्वुद रोग निवारण संघ दाङका अध्यक्ष पनि हुन् । उनी गाउँघरका कुनाकुप्चामा घुमेर क्यान्सर रोगको बारेमा जनचेतना फैलाउन सक्रिय छन् । उनले आफ्नै पहलमा थुप्रै क्यान्सरपिडितलाई सहयोग पनि जुटाएका छन् ।

तर विडम्वना क्यान्सरविरुद्ध निरन्तर संघर्षरत ६० बर्षिय भण्डारी यतिबेला आफै क्यान्सरसँग लडिरहेका छन् । उनी पहिलो पटक २०७१ सालमा गम्भीर रुपमा विरामी परे । ढाडको समस्याले पिरोलेका उनले एक बर्ष निकै सास्ती खेपे । विभिन्न प्रकारका थेरापीहरु गरे तर पनि रोग निको भएन । उपचारका लागि उनी राजधानी काठमाडौंका विभिन्न अस्पताल पुगे । उपचारको खोजीमा भौतारिरहेका उनलाई नेपालका डाक्टरहरुले ढाडको उपचार जोखिमयुक्त हुने बताए । बिरामीले छटपिटरहेका उनलाई डाक्टरहरुको कुराले थप पीडा दिलायो । त्यसपछि उनीसँग विदेश गएर उपचार गर्नुको विकल्प रहेन ।

त्यसपछि उनी ढाडको उपचार गर्न छिमेकी मुलुक भारतको लखनउ पुगे । त्यहाँ पनि उनलाई अप्रेशनको विकल्प नभएको जानकारी दिईयो । स्वास्थ्य समस्याले पिरोलीरहेका उनी लखनउबाट अप्रेशनको मानसिक तनाव झेलेर फर्के । करिव एक बर्षपछि उनको काठमाडौंको शिक्षक अस्पताल महाराजगंजमा अप्रेशन भयो । अप्रेशन गरेर उनको शरिरबाट साढे २ सय ग्राम हड्डी निकालियो । अप्रेशनपछि उनले हाइसन्चो महशुस गरे । तर त्यो सुखद क्षण लामो समय टिक्न सकेन ।

ढाडको अप्रेशन गरेको करिव २ बर्षमै उनलाई फेरि अर्काे गम्भिर समस्या आईपर्‍यो। २०७४ साउन २० गते विसन्चो भएपछि उनले स्वास्थ्य जाँच गराए । डाक्टरले उनलाई बोनम्यारोमा समस्या देखिएको जानकारी गराए । त्यसयता भण्डारीले राजधानीकै नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्दै आएका छन् ।

उपचारकै क्रममा उनलाई नेपालका डाक्टरहरुले दिल्ली जानका लागि सुझाएपछि उनी त्यसको जोरजाममा थिए । तर विडम्वना त्यही बेलाका उनका नाति दुर्घटनामा परे । आप्mनो उपचारका लागि दिल्ली जाने योजना ठाँटी राखेर उनी नातीको उपचारका लागि लखनउ जानुपर्ने भयो । नातीलाई त्यहाँ करिव २ महिना उपचार गरेर उनी नेपाल फर्किए ।

त्यसपछि उनी आफ्नो स्वास्थ्यको उपचार गर्नतिर लागे । भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर सोसाइटी लगायतले भण्डारीलाई दिल्लीस्थित राजिवगान्धी क्यान्सर अस्पताल जान सुझाए । उनी त्यहाँ पुगेर डाक्टर दिनेश मुराफिनीलाई स्वास्थ्य जाँच गराए । डा. मुराफिनीले उनले खाईरहेको औषधि हेर्दै यो रोगको अन्तिम औषधि नै त्यही भएको र बोनम्यारो प्रत्यारोपणको विकल्प नभएको बताएपछि उनी झसंग भए । थुप्रै क्यान्सरपिडितलाई हौसला दिँदै आएका उनले भावुक हुँदै भने, –“त्यतिबेला बोन्म्यारो प्रत्यारोपण गर्न म असमर्थ भए र नेपाल फर्किए ।”

भण्डारीले अहिले मासिक ३० हजार रुपैंयाको औषधि सेवन गरिरहेका छन् । बोनम्यारो प्रत्यारोपणका लागि करिव १६ लाख रुपैंया भारतीय रुपैंया लाग्ने अस्पतालले बताएको जानकारी दिँदै भण्डारीले भने, “मैले सकेसम्म उपचार गरे अब हजुरहरुको शरणमा आएको छु ।”

उपचारकै क्रममा भण्डारीको घरको आर्थिक अवस्था पनि नाजुक बन्न पुगेको छ । भावुक भण्डारीलाई साथ दिँदै चर्चित गायिका तथा राष्ट्रिय सभाका सांसद कोमल वलीले सबै नेपाली एउटै परिवार भन्दै सहयोगको अपिल गरेकी छिन् । मनकारी व्यक्तिहरुको सानो सहयोगले कसैको ज्यान जोगिन सक्छ भन्दै सांसद वलीले भनिन्–“हाम्रो जीवनको सबैभन्दा ठूलो कुरा स्वास्थ्य अनि मानवीय सहयोग हो ।” वलीले भण्डारीलाई १० हजार रुपैंयाको चेक पनि हस्तान्तरण गरिन् ।

भण्डारीले आफ्नो स्वास्थ्य उपचारका लागि मनकारी मनहरुको सहयोगको अपेक्षा गरेका छन । उनलाई सहयोग गर्न चाहने मनकारी मनहरुले बैंक अफ काठमाडौंको खाता नम्वर ०५१९००००२५०७५२४ मा आफ्नो सहयोग रकम डिपोजित गर्न सक्नु हुन्छ । यदि तपाई भण्डारीलाई सिधै सम्पर्क गर्न चाहनु हुन्छ भने ९८४७८३१२३२ नम्वरमा सम्पर्क गर्न सक्नु हुन्छ ।

 

 

Skip This
Skip This
Logo