उखु खेती छाडेर अन्नबाली लगाउँदै रौतहटका कृषक

उखु खेती छाडेर अन्नबाली लगाउँदै रौतहटका कृषक

केन्द्रबिन्दु
48
Shares

रौतहट । रौतहटका कृषकले उखु खेतीको विकल्पमा अन्नबाली लगायतका अन्य खेती गर्न थालेका छन् । श्रीराम सुगर मिल बन्द भएपछि यहाँका कृषकले उखु खेती गर्न छाडेका हुन् ।

उखु खेतीबाट समयमा नै भुक्तानी नआउने र खेतीमा लागत बढी भएपछि विकल्पमा अन्य खेती गरेका हुन् । ०४९ देखि उखु खेती गर्दै आएका बृन्दावन–७ धमौराका रूपनारायण साहले विकल्पमा अन्य खेती गर्न थालेका छन् ।

यो सिजनमा उखु मासेर अन्य बाली लगाएको उनले बताए । तीन बिघाको खेतीबाट वार्षिक १५ देखि १७ सय क्विन्टल उखु चिनी मिललाई बेच्ने गरेको बताउँदै उनले रोप्नेदेखि बिक्री गर्ने बेलासम्मे हैरानी हुने बताए ।

यहाँका कृषकले चलानी, भुक्तानीमा झमेला र मल अभावले उखु खेती लगाउन छाडेका छन् । अहिले खेतमा फाटफुट मात्र देखिने गरेको छ । करिब चार वर्षअघि उक्त मिल बन्द भएपछि मुस्किलले ५ हजार किसानले उखु खेती गरिरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।

वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन हुने रौतहटमा अहिले ७–८ लाख क्विन्टल मात्र हुने गरेको उनको भनाइ छ । श्रीराम सुगर मिल बन्द भए पनि कटहरिया नगरपालिकामा तीन वर्षदेखि बाबा बैद्यनाथ सुगर मिल सञ्चालनमा छ । गत वर्ष १५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको बैद्यनाथले ८ लाख भन्दा बढी उखु खरिद गर्न नसकेपछि बन्द भएको हो । रौतहटका उखु उत्पादक कृषकले मिल श्रीराम सुगर मिल सञ्चालन गर्नु पर्छ भन्ने अडानमा छन् भने उद्योगीहरू सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बताउँछन् ।

Logo