काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)को कार्यालय अगाडि धर्नामा बसेका विद्यार्थीले धर्ना स्थगित गरेका छन् ।
विभिन्न १० बुँदे माग राखी विद्यार्थी संगठनले २४ घण्टे अनसन बसेका थिए । वार्ता समिति र विद्यार्थी संगठनबीच ९ बुँदे सहमति भएपछि विद्यार्थी संगठनले अनसन स्थगित गर्ने निर्णय गरेको हो ।
पुष १६ गतेदेखि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनहरू शिक्षाध्यक्षको कार्यकक्ष अगाडि धर्नामा बस्दै आएका थिए । उनीहरूले उठान गरेका माग सम्बोधन गर्न शिक्षाध्यक्षको कार्यालयले प्रोफेसर पशुपति अधिकारीको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समिति र संयुक्त विद्यार्थी संगठनको तर्फबाट सहमति भएको हो ।
कुन-कुन बुँदामा भयो सहमति ?
मेरिटोक्रेसीको आधारमा क्याम्पस प्रमुखहरूको नियुक्ति प्रक्रिया बिना सर्त कार्यान्वयन गर्नेमा त्रिविले सहमति गरेको छ । आगामी दिनमा त्रिवि सावधिक पदमा नियुक्ति गर्दा मेरिटोक्रेसीमा उत्कृष्टतालाई नियुक्ति गर्न बाधा पर्ने प्रावधानहरू संशोधन गर्न अब बस्ने त्रिवि सभामा प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।
भारतबाट विद्यावारिधि उपाधि लिई त्रिविमा अध्यापनरत प्राध्यापकहरुको समकक्षता छानबिन गर्ने, अध्ययन बिदा लिई विदेश वा स्वदेश रहेर कार्यक्षेत्रमा नर्फकने शिक्षक तथा कर्मचारीहरूको उक्त अवधिको सेवा, सुविधा, तलब यकिन विवरण दुई हप्ताभित्र सार्वजनिक गरी कारबाही प्रक्रिया अगाडि बढाउने, त्रिभुवन विश्वविद्यालयको जग्गा सम्बन्धी गठित त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सम्बन्धित निकायमा एक हप्ताभित्र पत्राचार गर्ने साथै त्रिविको अतिक्रमित जग्गा फिर्ता गराई दोषी उपर कारबाहीको प्रक्रिया अगाडि बढाउने ।
त्रिवि मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभागहरुमा विद्यार्थीको आवश्यकता र विषयगत संरचनाका आधारमा बिहानी र दिउँसो कक्षा सञ्चालन गर्न यही शैक्षिक सत्रबाट अनिवार्य लागू गर्ने ।
त्रिविका करार तथा आंशिक शिक्षक/कर्मचारीहरूको सम्बन्धमा अदालतको आदेश विपरीत स्वतः करार तथा स्थायी गर्ने निर्णय कार्यान्वयन नगरिने ।
त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरूको लागि खुल्ला प्रतिस्पर्धा मार्फत पदपूर्ति गर्न तत्काल नयाँ विज्ञापन गर्ने।
परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिनका लागि गठित प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कमिटीले त्रिभुवन विश्वविद्यालयलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी सो प्रतिवेदनका आधारमा दोषी ठहर्याएर सिफारिस गरेका व्यक्ति उपर कारबाही प्रक्रिया यथाशीघ्र अगाडि बढाउने, बुँदामा संयुक्त विद्यार्थी संगठन र वार्ता समिति विच सहमति भएको हो ।
त्रिविले नयाँ उपकुलपतिको पाएसँगै विभिन्न विद्यार्थी संगठन र कर्मचारीहरु आन्दोलित बने भने विभिन्न संकाय र प्रशासनिक कार्यालयमा ताला लागेकाे थियाे । याे सहमतिले उपकुलपतिको कार्यालय र शिक्षाध्यक्षको कार्यालयको धर्ना स्थगित भएको छ भने भौतिकशास्त्र संकायमा लागेको ताला खाेलिएको छ । तर अझै पनि प्रिन्सिपलको कार्यालय र स्ववियुको कार्यालयमा ताला लागिरहेको छ । त्रिवि प्राध्यापक संघले पनि आन्दोलन गर्ने चेतावनी दिएको छ ।





























प्रतिक्रिया