दशौँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

दशौँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । बुधबार त्रिपुरेश्वरस्थित खेलकुद परिषद्को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामी चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १० औँ राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी, प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट नै हुने छ । कार्यक्रममा परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदको सहभागिताको सङ्ख्या जम्मा दुई सय १५ जनाको रहेकोमा यो वर्ष सात सय भन्दा माथिको संख्यामा सहभागिता गराउने टिम पनि रहेको बताए ।

सहभागीको संख्यालाई हेरेर ढोका बन्द नगर्ने भन्दै उनले यसका निम्ति बजेटको व्यवस्था पनि गरेको जानकारी गराए । उनले भने, ‘विगतको नवौँ राष्ट्रिय खेलकुदको सहभागिताको सङ्ख्या हेर्ने हो भने जम्मा दुई सय १५ जनाको सहभागिता थियो । तर अहिले सात सयभन्दा माथिको सहभागिता गराउने टिम पनि छ । दुई सय र सात सयबीचको प्रतिस्पर्धाले के हुन सक्छ भन्ने पनि छ । तर यसमा हामीले ढोका बन्द गरेको छैनौँ । यसका निम्ति पनि बजेटको व्यवस्था गरेका छौँ ।’

Logo