काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
मोरङको उमागौरी सहकारी संस्थाको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पूर्जीसमेत जारी भएको अवस्थामा फरार रहेकी कोइराला बुधबार बयानका लागिथ अदालतमा उपस्थित भएकी थिइन् ।
उमागौरी सहकारीका बचतकर्ता र ऋणीले कोइरालासहित संस्थाका अध्यक्ष श्याम रौनियारविरुद्ध उजुरी दर्ता गराएका थिए । उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला कालोसूचीमा छिन्। सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन्। सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ। अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो।





























प्रतिक्रिया