किन जाँदै छ लगातार भूकम्प, पश्चिम नेपाल भूकम्पको जोखिममा हो ?

किन जाँदै छ लगातार भूकम्प, पश्चिम नेपाल भूकम्पको जोखिममा हो ?


काठमाडौँ । विसं २०७२ यता नेपालमा भूकम्प आउने क्रम जारी छ । त्यसयता कति पटक भूकम्प आयो कुनै लेखाजोखा छैन । सामान्यतया हामीले थाहा नपाउने गरी हजारौँ पटक कम्पन आइसकेको छ । तर कुनै कुनै वेला भने तसार्उने गरी भूकम्प आइरहेको छ ।

चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भयो । चीनमा आएको भूकम्पले नेपालमा पनि तरंग फैलायो । पूर्वी नेपालमा ठुलै धक्का महसुस गरिएको उक्त भूकम्पले सर्वसाधारणलाई त्रसित बनायो ।

बुधबार बिहान नौ बजेदेखि दिउँसो २ः३० सम्म ६१० पटक पराकम्प गइसकेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकले देखाउँछ । प्रत्येक ३० मिनेटमा १० पटक पराकम्प गइरहेको छ ।

तर चीनमा गएको भूकम्पले नेपालमा आउने भूकम्पसँग कुनै सम्बन्ध नभएको भूकम्पविद्हरू बताउँछन् । भूकम्पविद् तथा राष्ट्रिय साइमोलिक केन्द्रका प्रमुख भरत कोइरालाले बुधबार नेपालमा धक्का महसुस गरिएको भूकम्प चीनमा गएको भूकम्पको भएको तर यसले नेपालमा भूकम्प जाने सम्भावना कम वा बढी हुन्छ भन्ने नहुने बताए । ‘नेपाल सधैँ भूकम्पको जोखिममा छ । पूर्वमा भूकम्प गइरहेको छ । तर पूर्वको तुलनामा पश्चिम भूकम्पको बढी जोखिम छ ।’ उनले भने ।

पश्चिम नेपालमा पाँच सय वर्षयता ठूलो भूकम्प नगएको जानकारहरू बताउँछन् । यसको मतलब त्यहाँको जमिनमुनि ठूलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ ।

नेपालको त्यो ठूलो भुकम्प
नेपाली इतिहासमा सन् १५०५ जुन ६ मा मुस्ताङमा आठ म्याग्निच्युडको भूकम्प गएको इतिहास छ । जसलाई नेपाली इतिहासमा अभिलेख भएको सबैभन्दा ठूलो शक्तिशाली भूकम्प मानिन्छ । त्यसको शक्ति ८.२ देखि ८.८ म्याग्निच्युडको बीचमा अनुमान गरिएको छ ।

तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने मुस्ताङमा उक्त भूकम्पपछि मध्यपश्चिम र सुदूरपश्चिममा ठूलो भूकम्प जान सकेको छैन । त्यो जोखिम अझै कायम रहेको भूकम्पविद्हरू बताउँछन् ।

भूकम्प जति वेला पनि जान्छ । म र मेरो परिवारलाई बचाउन यसो–यसो गर्छु भनेर सोच्नुपर्‍यो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्य नेपालमा १०० वर्षयता ठूला भूकम्प गइरहेका छन् । २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गयो । तर, त्यसको प्रभाव गोरखा पश्चिममा परेन । मध्य नेपालमा भने ठूलो क्षति भयो । त्यस्तै, १९९० र २०४५ मा पनि ठूलो भूकम्प गएको जानकारहरू बताउँछन् ।

ठूला भूकम्पका हजारौँ पराकम्प

ठूलो भूकम्प जाँदा त्यसका हजारौँ पराकम्प जान्छन् । २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गयो । ५५ हजारभदा बढी पराकम्प गएको जानकारहरू बताउँछन् ।

डोटीमा गतवर्षको कार्तिक २३ गते ६.६ म्याग्निच्युडको भूकम्प गयो । उक्त भूकम्पको ७९६ वटा पराकम्प गएको थियो । २०८० बैशाख १५ गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको पराकम्प ३१० पटक गएको थियो । २०८० असोजको १६ गते बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गयो । उक्त भूकम्पको सन् २०२५ जनवरी ४ सम्म ७९६ वटा पराकम्प गएको तथ्यांकले देखाउँछ ।

२०८० कार्तिक ५ गते धादिङमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही महिनाको १७ गते जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । कर्णाली र सुदूरपश्चिमा गएको भूकम्पको २ म्याग्निच्युड भन्दा माथिको पराकम्प ३ हजार ६ सय वटा गइसकेको केन्द्रको तथ्यांकले देखाउँछ ।

पुष महिनामा मात्र जाजरकोटमा ५.२ देखि ४.० म्याग्निच्युडको भूकम्प ७ चोटि गएको छ । मुगुमा १ पटक, जाजरकोटमा १ पटक, बाजुरामा १ पटक, बैतडीमा १ पटक, दार्चुलामा १ पटक र बझाङमा १ पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विवरणअनुसार २०८१ साल लागेयता १९ पटक भूकम्प गइसकेका छन् । यीमध्ये अधिकांशको इपिसेन्टर पश्चिममै देखिन्छ ।

भूकम्प गएको समयमा कसरी जोगिने ?
भूकम्प आउनुभन्दा अगाडि भूकम्प मापन प्रविधि साइमिक नेटवर्कले १५ सेकेन्ड अगाडि जानकारी गराउँछ भनिए पनि सर्वसाधारणलाई सचेत गराउने त्यो समय निकै कम भएको भूकम्पविद् भरत कोइराला बताउँछन् ।

त्यसैले मुलुक नै भूकम्पको जोखिममा रहेकाले व्यक्ति आफू र आफ्नो परिवार जोगाउन सक्छु भन्ने तरिकाले सतर्क हुनुपर्ने सुझाव उनले दिएका छन् । तर जोगिनका लागि जहिल्यै तयारी अवस्थामा रहनुपर्नेमा कोइरालाले जोड दिएका छन् ।

‘जोगिनका लागि पहिले नै तयारी गरेको हुनुपर्छ,’ उनी भन्छन्, ‘भूकम्प जति वेला पनि जान्छ । म र मेरो परिवारलाई बचाउन यसो–यसो गर्छु भनेर सोच्नुपर्‍यो । खुला क्षेत्र, निकास पहिल्यै जानकारी गराउनुपर्‍यो । यसो गरेमा कम्तीमा मानवीय क्षति कम गर्न सक्छौँ ।’ भूकम्पबाट जोगिने मुख्य उपाय भौतिक संरचनामा सुधार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

Logo