लमजुङमा एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

लमजुङमा एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद

केन्द्रबिन्दु
54
Shares

लमजुङ । लमजुङबाट प्रहरीले एक सय ७ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले जानकारी दिए ।

डिएसपी श्रीवास्तवका अनुसार बरामद भएका बन्दुकहरूमा २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल रहेका छन् । दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङले गएको कार्तिक ११ गते एक सूचना जारी गरेर हातहतियार खरखजना ऐन तथा नियमावली बमोजिम पाँच वर्षसम्म पनि नवीकरण नभएका हातहतियारहरू सुरक्षा निकायमा वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको थियो ।

स्थानीय प्रशासनले जारी गरेको सोही सूचना अनुरूप लमजुङ जिल्लामा दर्ता भएका साना तथा ठूला गरेर चार सय ७० वटा हतियारहरूमध्ये एकसय १४ वटा बन्दुकधनिहरूले मात्र आफ्नो बन्दुक नवीकरणका लागि आवेदन दिएर बन्दुक सञ्चालनको इजाजत पत्र पाएका छन् ।

बाँकी अवैध हतियारहरूको खोजी कार्यलाई तीव्रता दिइएको डिएसपी श्रीवास्तवले जानकारी दिए । साथै प्रहरीले आफूसँग भएका अवैध हतियारहरू नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन अनुरोध पनि गरेको छ ।

Logo