काठमाडौँ । हाइब्रिड कारहरूले इन्धन र बिजुली दुवैको संयोजनमा काम गर्छन् । अर्थात् हाइब्रिड कारमा पेट्रोल–डिजेल इन्जिन र इलेक्ट्रिक मोटर दुवैको प्रयोग हुन्छ ।
यी कारहरू ईन्धन बचत, कम प्रदूषण र उच्च कार्यक्षमताका लागि लोकप्रिय छन् । यी दुवै प्रविधिका कारण हाइब्रिड कारको माइलेज पनि बढी हुन्छ । साथै यसले कार्बन उत्सर्जन पनि कम गर्छ । सफासुग्घर शहरहरूमा प्रदूषण नियन्त्रण गर्न योगदान पुर्याउँछ । यसमा अत्याधुनिक प्रविधि र सुविधाहरू उपलब्ध हुन्छन् ।
सहर र लामो दूरीको यात्राका लागि हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ । बढ्दो प्रदूषण र विश्वभर पेट्रोल तथा डिजेलको बढ्दो मूल्यको कारण हाइब्रिड कार भविष्यका लागि महत्त्वपूर्ण विकल्प हुन सक्ने अनुमान गरिएको छ ।
हाइब्रिड कार मुख्य गरी माइल्ड हाइब्रिड, फुल हाइब्रिड र प्लग–इन हाइब्रिड गरी ३ प्रकारका हुन्छ । माइल्ड हाइब्रिड कारमा पेट्रोल इन्जिनसँगै इलेक्ट्रिक मोटर हुन्छ । फुल हाइब्रिड कारमा इलेक्ट्रिक मोटर र इन्जिन दुवै स्वतन्त्र रूपमा काम गर्छ र प्लग–इन हाइब्रिडमा ठुलो ब्याट्री हुन्छ, जसलाई बाह्य चार्जिङबाट चार्ज गर्न सकिन्छ।
हाइब्रिड कार लामो दुरीको यात्राको लागि निकै उपयोगी हुन सक्छ । यसमा ईभीमा जस्तै ब्याट्री डिस्चार्ज हुने चिन्ता हुँदैन । यदि यात्राको समयमा यसमा भएको ब्याट्री सकेको खण्डमा पेट्रोल इन्जिनले काम गर्छ । इलेक्ट्रिक कार भन्दा हाइब्रिड कार सस्तो पनि हुन्छ र पेट्रोल कारको तुलनामा हाइब्रिड कारमा लाग्ने खर्च पनि कम हुन्छ ।
हाल ईभीको लागि पूर्वाधारको अभाव र चार्जिङ स्टेशनको अभावको कारण इलेक्ट्रिक कार पूर्ण रूपमा अपनाउन अलि समय लाग्न सक्छ । जसको कारण हाल ग्लोबल स्तरमा हाइब्रिड गाडीको माग बढ्दै गएको छ। युरोपमा त इलेक्ट्रिक कारको तुलनामा हाइब्रिड कारको माग बढी छ । यद्यपि ब्रिटेन जस्ता देशले भने पहिलादेखि चलिरहेको हाइब्रिड कार बन्द गर्ने तयारी गरिरहेको छ । ब्रिटेनले २०३० सम्म जिरो एमिशन नीति अन्तर्गत हाइब्रिड गाडीको प्रयोगलाई बन्द गर्ने तयारी गरिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा टोयोटा, होन्डा, हुन्डाई जस्ता कम्पनीले हाइब्रिड कार बिक्री गरिरहेका छन् भने भारतमा टोयोटा इनोभा हाईक्रस, मारुती सुजुकी ग्रान्ड भिटारा, टोयोटा अर्बन क्रुजर हाइराइडर र होन्डा सिटी जस्ता हाइब्रिड कार उपलब्ध छ ।
हाइब्रिड कारले पेट्रोल र डिजेल कारको तुलनामा बढी माइलेज दिन्छ । हाइब्रिड कारले ट्राफिक जाममा इलेक्ट्रिक मोटर र राजमार्गमा पेट्रोल इन्जिन प्रयोग गर्छ । यद्यपि हाल हाइब्रिड कार पेट्रोल–डिजेल कार भन्दा महँगो छ ।
यसमा पाइने ब्याट्री र मोटरका कारण हाइब्रिड कारको मर्मतसम्भारमा पनि बढी खर्च लाग्छ । साथै बजारमा पेट्रोल र डिजेल कारको तुलनामा हाइब्रिड कारको विकल्प अझै सीमित मात्रामा छ । यदि ब्याट्री टेक्नोलोजीमा सुधार भयो र उत्पादन लागत घट्यो भने हाइब्रिड कार अझ सस्तो हुन सक्ने अनुमान गरिएको छ ।































प्रतिक्रिया