काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’ले परिचित गायक राजेशपायल राई सांगीतिक यात्राकै क्रममा शनिबार अमेरिकाको डालास पुगेका छन् ।
माघेसंक्रान्तिको अवसर पारेर डालासमा नेपाल मगर संघ टेक्सास च्याप्टरको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रममा धमाकेदार प्रस्तुतीका लागि गायक राई आज त्यहाँ पुगेका हुन् । टोरन्टोबाट सिधै डालास पुगेका उनलाई एयरपोर्टमा मगर संघ सांस्कृतिक विभागका संगीतकर्मीहरुले भव्य स्वागत गरेका थिए ।
गायक राईको प्रमुख आतिथ्यमा यो कार्यक्रम हुन लागेको हो । आजको कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै पनि कसुर बाँकी नराखिने मगर संघ टेक्सास च्याप्टरका अध्यक्ष भीम थापाले जानकारी दिए । कार्यक्रममा खैजडी, कौडा, सोरठी नाच, सालेजु, हुर्रा, पञ्चेबाजालगायत लाइभ लोकदोहोरी स्थानीय मगर संघ सांस्कृतिक कलाकारहरुले प्रस्तुती दिनेछन् ।

साथै ‘राई इज किङ’ले डालासमा धमाका मच्चाउँदैछन् । दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी करिब ३० वटा चर्चित र लोकप्रिय गीतहरु गाउने भएका छन् । जसमा सबैको मन जित्न सफल ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउ न, मरुभूमि जस्तै छ यो जिन्दगी, या नी माया, दिक्तेल बजार’लगायतका गीत उनले छुटाउने छैनन् ।
यसअघि ‘राई इज किङ’ले क्यानडाका विभिन्न ६ स्थानमा भव्य रुपमा कार्यक्रम सम्पन्न गरिसकेका छन् ।





























प्रतिक्रिया