नेपाली बजारमा चिनियाँ ईभीहरू लोकप्रिय बन्दै

नेपाली बजारमा चिनियाँ ईभीहरू लोकप्रिय बन्दै

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपाली बजारमा चिनियाँ ईभीहरू लोकप्रिय बन्दै गइरहेका छन् । चीनले नेपालमा विद्युतीय (ईभी) गाडीको बजार बढाउँदै लगेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा निजी कार बिक्रीमा मात्र ७१.५ प्रतिशत हिस्सा ईभीले ओगटिसकेको छ । उक्त बर्ष मा चीनबाट मात्रै ८ हजार ६५ वटा ईभी नेपाल भित्रिएका थिए भने गाडी भित्रिएको संख्या हेर्दा भारत दोस्रो नम्बरमा परेको थियो ।

चीनबाट आयात भएका ईभीको हिस्सा ५८.३६ प्रतिशत र भारतबाट आयात भएका ईभीको अनुपात ३६.१२ प्रतिशत रहेको तथ्यांक छ । गत वर्षमा कुल ३४ अर्ब ९१ करोड रूपैयाँका जिप, कार, भ्यान आयात भएका थिए । त्यसमध्ये चीनबाट मात्रै २२ अर्ब ५५ करोड रुपैयाँको आयात भएको तथ्यांक थियो भने भारतबाट १० अर्ब ९७ करोड रुपैयाँको आएको छ । यस हिसाबले पनि चिनियाँ अटो बजार नेपालमा आक्रमक भएको देखिन्छ ।

सरिना जी ट्रेड प्रालिले केही दिनअघि मात्र नयाँ विद्युतीय ट्याक्सी ईभीईजी नेपाल ल्याएको छ । सरिना जी ट्रेडले यसको बुकिङ खुला गरेको छ । बीवाईडी, दिपल, लिपमोटर, एमजी लगायतका विभिन्न मोडलले नेपाली ईभी बजारलाई अगाडि बढाइरहेका छन् ।

नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा युरोपियन ब्रान्डका सवारी साधनले प्रभाव जमाउँदै आए पनि पछिल्लो समयमा चिनियाँ मोडलका ईभीले स्थान ओगट्न थालेका छन् । व्यवसायी हेमन्तराज कक्षपति चिनियाँ ब्राण्डका कम्पनीहरु एकदमै बलियो भएको अनुभव रहेको बताए ।

नेपाल टुरिष्ट भेइकल एसोसिएसनका पूर्वअध्यक्ष एवं व्यवसायी मनोज श्रेष्ठले चिनियाँ ईभी गाडीहरू लक्जरियस रहेको भन्दै चिनियाँ ईभीहरूका सबै फिचर राम्रा रहेको बताए । ‘ईभीको भविष्य राम्रो देख्छु । चिनियाँ ईभी बसहरू थप भित्र्याउन आवश्यक छ ।’ उनले भने ।

व्यवसायी वेदराज बाँस्तोलाले चिनियाँ ईभी बसको सेवा सुविधाहरू राम्रो रहेको बताए । उनले भने,‘नेपालमा चिनियाँ ईभी बसको संख्या बढ्दै जानु पर्यटन क्षेत्रका लागि अति नै आवश्यक छ । यसको परीक्षणपछि विस्तारै अपग्रेड गर्ने काममा कम्पनीले काम गर्नुपर्छ ।’

नेपालमा चीन र भारतबाहेक कोरिया, अमेरिका, फ्रान्स र जापान लगायत मुलुकमा बनेका ईभी भित्रिरहे पनि पछिल्लो समय चिनियाँ गाडीको संख्या बढ्दै गएको व्यवसायी राजु श्रेष्ठको भनाइ छ ।

Logo