जेनेभा । हेइटीमा गिरोह हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ हजार मानिस धेरै पटक विस्थापित भएका र तीव्र मानवीय सङ्कटको बीचमा सङ्घर्ष गरिरहेका छन्’ भनेको छ ।
“सन् २०२३ डिसेम्बरमा हामीले रेकर्ड गरेका हिंसाबाट लगभग तीन लाख १५ हजार मानिस विस्थापित भएका थिए”, आइओएमका प्रवक्ता केनेडी ओकोथ ओमोन्डीले भने, “त्यसयताको एक वर्षमा हामीले यो सङ्ख्या तीन गुणाले बढेर हैटीमा गिरोह हिंसाका कारण अब १० लाखभन्दा बढी मानिस विस्थापित भएको देखेका छौँ ।”
राजधानी पोर्ट–अ–प्रिन्समा आइओएमले ‘निरन्तर गिरोह हिंसा, आवश्यक सेवाहरूको पतन–विशेष गरी स्वास्थ्य सेवा– र बढ्दो खाद्य असुरक्षाका कारण’ विस्थापन ८७ प्रतिशतले बढेको बताएको छ । यो गरिब क्यारेबियन देश दशकौँदेखि राजनीतिक अस्थिरताले ग्रसित छ र हालका वर्षहरूमा शक्तिशाली बन्दै गएका गिरोहहरूले झन् खराब बनाएका छन् ।
संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको समर्थनमा केन्याको नेतृत्वमा रहेको प्रहरी सहयोग मिसन हुँदाहुँदै पनि हिंसा बढ्दै गएको छ । गत हप्ता संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले हेइटीमा बढ्दो गिरोह हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढी मानिस मारिएको र हजारौँ घाइते वा अपहरण गरिएको बताएको थियो ।
“हैटीलाई अहिले नै जीवन बचाउन र सुरक्षा गर्न निरन्तर मानवीय सहायताको आवश्यकता छ”, आइओएमका महानिर्देशक एमी पोपले भने, “हामीले यति धेरै मृत्यु र विनाश निम्त्याएको हिंसा र अस्थिरताको मूल कारणहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्छ ।”































प्रतिक्रिया