सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, आगामी फेब्रुअरीदेखि भारतलगायत युरोप र जापानमा बिक्री सुरु हुने

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, आगामी फेब्रुअरीदेखि भारतलगायत युरोप र जापानमा बिक्री सुरु हुने

केन्द्रबिन्दु
111
Shares

भारत । मारुती सुजुकीले कम्पनीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको छ। दुई ब्याट्री प्याक ४९ किलोवाट र ६१ किलोवाट आवर अप्सनमा उपलब्ध हुने सो कारले एक पटकको फुल चार्जमा ५०० किलोमिटर भन्दा धेरै रेन्ज दिने दावी गरिएको छ।

सो ईभीको उत्पादन आगामी फेब्रुअरी महिना देखि सुरु हुनेछ भने जुनसम्म भारतलगायत युरोप र जापान लगायतका देशमा बिक्री सुरु हुनेछ। नेपालमा पनि त्यही समय पश्चात उपलब्ध हुने अनुमान गरिएको छ। यी दुई मोडलको मूल्य क्रमशः २० लाख र २५ लाख भारु तोकिएको छ। यसको अलग्रिप अल ह्विल ड्राइभ भर्सनको मूल्य ३० लाख भारु हुने सम्भावना छ।

सुजुकीले पहिलो पटक गत वर्षको अक्टोबरमा इटालीको मिलानमा सम्पन्न ईआईसीएमए २०२४ मार्फत ग्लोबल मार्केटमा सो ईभी सार्वजनिक गरेको थियो। कम्पनीले पहिले अटो एक्सपो २०२३ मा सार्वजनिक गरेको ईभीएक्स कन्सेप्टको यो प्रोडक्सन भर्सन हो। सुजुकी ई–भिटारालाई नयाँ हार्टेक्ट–ई प्लेटफर्ममा विकास गरिएको हो। सुजुकीले टोयोटासँगको सहकार्यमा यसको विकास गरेको हो।

यसको फ्रन्टमा पातलो एलईडी हेडलाइट र वाई आकारको एलईडी डीआरएल र स्टाइलिस बम्परका साथ इन्टिग्रेटेड फगलाइट छ। बडी क्लेडिङ र १९ इन्च ब्ल्याक ह्विलका साथ सो मिडसाइज एसयूभी साइडबाट हेर्दा निकै नै मस्कुलर देखिन्छ। इलेक्ट्रिक सनरुफ र कनेक्टेड एलईडी टेललाइट लगायतका फिचर छन्।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको सो ईभीको इन्टेरियरमा टु स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल र भर्टिकल ओरिएन्टेड एसी भेन्ट्सको चारैतिर क्रोमटच दिइएको छ। क्याबिनमा इन्टिग्रेटेड फ्लोटिङ स्क्रिन सेटअप छ, जसमा इन्फोटेनमेन्ट र ड्राइभर डिस्प्ले छ। सो गाडीको फिचरको वारेमा कम्पनीले आधिकारिक जानकारी नदिए पनि यसमा अटोमेटिक एसी, भेन्टिलेटेड फ्रन्ट सिट र वायरलेस फोन चार्जर लगायतका फिचर हुनेछन्।

सुरक्षाका लागि यसमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक र लेभल २ एडास जस्ता सेफ्टी फिचर छन्।सुजुकी ई–भिटाराको प्रतिस्पर्धा एमजी जेडएस ईभी, टाटा कर्भ ईभी, हुन्डाई क्रेटा ईभी र महिन्द्रा बीई६ जस्ता ईभीसँग हुनेछ।

Logo